काठमाडौ : सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को आजको बैठकमा प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने उल्लेख छ ।
यस्तै हिमालहरूलाई फोहोरमुक्त बनाउन विशेष सफाइ अभियान सञ्चालन गर्ने, सहरहरूमा हुने वायु र ध्वनि प्रदूषणको मात्रा उल्लेखनीय रूपमा नियन्त्रण गरिने, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि हरित विकासको अवधारणा अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले विकास र वातावरणबीच सन्तुलन कायम गर्ने पनि जनाएको छ । घोषित नीति तथा कार्यक्रम अनुसार पृथ्वीको भविष्य, जीवहरूको रक्षा, हित कल्याण र यसको इकोसिष्टममा टकराव नआउने गरी विकास कार्यहरू अघि बढाइनेछ ।
विश्व तापमानमा भएको वृद्धिबाट सिर्जित जलवायु परिवर्तनका नकारात्मक असरहरूलाई न्यून गर्न स्थानीय तहसम्म जलवायु अनुकूलन कार्यक्रमहरू सञ्चालन गरिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका सीमसार क्षेत्रहरूको संरक्षण र बुद्धिमत्तापूर्ण उपयोग गर्दै पर्यापर्यटनको गन्तव्यको रूपमा विकास गरिने, तालतलैयाहरूको संरक्षण र विकासको गुरुयोजना बनाई कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
सरकारले प्राकृतिक स्रोतको अनुचित दोहन हुन नदिने तर पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरू निर्बाध उपलब्ध हुने सुनिश्चित गरिने जनाएको छ ।