
काठमाडौ : बर्षातको पानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु भएको छ । सम्मेलनको उदघाटन उर्जा, जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुनले गर्नुभयो ।
बर्षातको पानी संकलन गर्ने मौलिक ज्ञान, सीप तथा शैलीहरु र विश्वमा उपलब्ध ज्ञान, सीप र प्रबिधिको बारेमा छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष रामदिप शाहले जानकारी दिनुभयो ।
सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया र नेपालमा बर्षातको पानी संकलनको क्षेत्रमा कार्यरत विज्ञ एवं अनुसन्धाताहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, बर्षातको पानी संकलनबाट जलाधार तथा परिस्थितिकीय चक्र (इकोसिस्टम) मा पर्ने प्रभाव, आकाशे पानी संकलनको प्रवर्धनमा स्थानीय निकायको भूमिका, आकाशे पानी संकलनमा वित्तिय सहयोग, जलवायु परिवर्तन र अनुकुलन सँग सम्बन्धित ३० वटा भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनमा बर्षातको पानी संकलन प्रविधि, पाइप तथा फिटिङस्, फोहोरमैला व्यवस्थापनका लागि आवश्यक बस्तु, पानी शुद्धिकरणसँग सम्बन्धित उपकरणहरु समेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीबाट पानी संकलन विधि, खानेपानी शुद्धिकरणका उपायहरु आदि बिषयमा जानकारी हासिल गर्न सक्नेछन् ।
देशभर २३ हजार नदीनाला पहिचान : मन्त्री पुन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले देशभर २३ हजार नदीनाला पहिचान भएको बताउनुभएको छ । बर्षातको पानी संकलन सम्बन्धी काठमाडौमा सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन कार्यक्रममा मन्त्री पुनले एकीकृत वेसीन आयोजनाले गरेको अध्ययनले देशभर यत्ति धेरै नदीनालाको पहिचान भएको बताउनुभएको हो ।
उहाँले संविधानको मर्म अनुसार ती नदीमध्ये ठूला नदीनालाको संरक्षण संघले, मझौता प्रकारका नदीनाला प्रदेशले र साना खोलाहरुको व्यवस्थापन स्थानीय सरकारले गर्ने स्पष्ट पार्नुभयो ।
हामीसँग बर्षातको पानी संकलन गर्ने परम्परागत ज्ञान सीप भएपनि त्यो हराउँदै गएको र त्यसलाई परिस्कृत गरेर आधुनिक प्रविधिसँग जोडेर लैजान सकेन वर्तमान पानीको समस्या केही हदसम्म समाधान गर्न सकिने बताउनुभयो ।
पछिल्ला बर्षहरुमा समग्रमा देशभर पानी पर्ने दर कम हुँदै गएपनि कतै अतिवृष्टि र कतै अनावृष्टिले आकाशे पानीको सन्तुलित वितरण हुन नसकेको बताउनुभयो । यसको मूख्य उदाहरण हालै कुलेखानेपानी ड्याम भरिएको प्रसंग निकाल्दै मन्त्री पुनले अहिलेसम्मकै इतिहासमा चाँडै ड्याम भरिएको बताउनुभयो ।
‘यस अघिका तथ्याङ्कहरु केलाउँदा असोजसम्म पानी संकलन गर्दा कुलेखानी जलाशय आयोजनाको १५३० मिटर भरिदो रहेछ, तर यसपाली साउनको पहिलो सातामै १५२७ मिटर भरिएको छ । त्यसदिन देखि हामीले नियमित रुपमा ९२ मेगावाट बिजुली उत्पादन गर्दै आएका छौं’ उहाँले भन्नुभयो ‘यसले के देखाउँछ भने साउन महिनामा त्यस भेगमा अति धेरै पानी प-यो ।’ नेपालमा सरदर बार्षिक १५०० मिलिमिटर बर्षा हुने गरेको छ ।
जलवायु परिवर्तनका कारण बर्षामा हुने उतारचढाव, अनियन्त्रित विकास निर्माणको काम र बढ्दो जनसंख्याले भूमिगत पानीको स्रोत घट्दै गएको, पानीको मूल सुक्दै गएको जस्ता कारणले खानेपानीको समस्या भयावह हुँदै गएको बेला बर्षातको पानी संकलन गर्ने प्रविधिलाई जनस्तरसम्म पु्याउन उहाँले जोड दिनुभयो ।
सम्मेलनको दोस्रो दिन भोलि आकाशे पानी संकलन र प्रयोग सम्बन्धि निर्देशिका तर्जुमा लगायत अन्य बिषयमा छलफल हुनेछ । त्यसपछि काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । सम्मेलनको समापन खानेपानीमन्त्री बिना मगरले गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, हेल्भेटास नेपाल, सोफेन, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्यूट लगायत संघसंस्थाको सह आयोजनामा खानेपानी तथा ढल व्यवस्थापन विभाग, स्मार्ट वास सोलुसन्स्, एसएनभी लगायत संघसंस्थाले आयोजना गरेको हो ।





1456 पटक हेरिएको 

