बुटवल : प्रदेश ५ को राजधानी बुटवलमा प्रदेश ५ स्तरीय खानेपानी र सरसफाइको अवस्था, नीतिगत व्यवस्था र अधिकार बिषयक गोष्ठी सम्पन्न भएको छ । खानेपानी र सरसफाइमा गरिएको नीतिगत व्यवस्थाबारे जानकारी गराउने, उपभोक्तामैत्री ऐन, कानुन र नीति निर्माणमा संघ, प्रदेश र स्थानीय सरकारको भूमिकाका बिषयमा जानकारी गराउने उद्देश्यले खानेपानी र सरसफाइ अधिकारलाई युनिसेफ नेपालको आर्थिक सहयोग र खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघको समन्वयमा प्रदेश महासंघले गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीका प्रमुख अतिथि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हुनुहुन्थ्यो । गोष्ठीमा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, विभिन्न समितिका सभापतिहरु, सांसदहरु, विभिन्न महासंघका प्रतिनिधीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधीहरु उपस्थित हुनुहुन्थ्यो ।
गोष्ठीमा भौतिक पूर्वाधार विकास मन्त्रालयको खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ध्रुवकुमार धितालले प्रदेश ५ मा संघ र प्रदेश मार्फत सञ्चालित खानेपानी आयोजनाहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले खानेपानी र सरसफाइ क्षेत्रको कानुन निर्माण प्रक्रियामा संघ, प्रदेश र स्थानीय सरकारको भूमिका र उपभोक्ताको अधिकारको सवालमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीमा प्रदेश ५ सरकारले प्रदेश स्तरीय वास प्लान बनाउने बिषयमा समेत छलफल भएको थियो । यस्तै अधिवक्ता दिलराज खनालले खानेपानी, सरसफाइ र स्वच्छताका सवालमा संविधान तथा ऐन कानुनमा रहेको संघ, प्रदेश र स्थानीय सरकारको भूमिका, यसको कार्यान्वयन र राम्रा तथा नराम्रा पक्षका बारेमा छलफल गर्नुभएको थियो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र अर्यालले प्रतिनिधिसभामा पेश भएको खानेपानी तथा सरसफाइ विधेयक र भोलिका दिनमा यसको कार्यान्वयनमा स्थानीय तथा प्रदेश सरकारको भूमिका लगायतका बिषयमा प्रकाश पार्नुभएको थियो ।
उहाँले खानेपानी र सरसफाइ क्षेत्रको दिगो विकास लक्ष्य प्राप्तिका लागि खानेपानी र सरसफाइ सम्बन्धी बिषयलाई स्थानीयकरण गर्दै लैजानुपर्ने बताउनुभयो । तीनै तहको सरकार बीच समन्वय आवश्यक रहेको भन्दै उहाँले जनताको खानेपानी र सरसफाइ अधिकार परिपूर्तिका अन्तर सरकारी मन्त्रालय तथा सरकारी निकायबीच नियमित समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
गोष्ठी खानेपानी तथा सरसफाइ उपभोक्ता प्रदेश महासंघका अध्यक्ष थान प्रसाद गैरेको अध्यक्षतामा बुधबार सम्पन्न भएको हो ।


2165 पटक हेरिएको 

