यी हुन् सबैको घरमा चर्पी बनेर पनि ओडिएफ नभएका १३ जिल्ला

काठमाडौ २६ जेठ । कतिपय जिल्लाका सबै घरमा चर्पी नबन्दै हतार हतार खुलादिसामुक्त घोषणा गरिए भन्ने आरोप विगतमा सुनिए । तर अहिले जिल्लाको सत प्रतिशत घरमा चर्पी बनेर पनि १३ जिल्ला अझै खुलादिसामुक्त घोषणा हुन बाँकी छ ।

मुगु, डोटी, मनाङ, संखुवासभा, भोजपुर र डोल्पाका सबै घरमा चर्पी बनेपनि खुलादिसामुक्त जिल्ला घोषणा हुन बाँकी नै छ, त्यस्तै जिल्लाको सबै घरधुरीमा चर्पी बनाइसकेको हुम्ला, सोलुखुम्बु, ओखलढुङ्गा, पाल्पा, दार्चुला, कञ्चनपुर र सिन्धुली पनि खुला दिसामुक्त हुन बाँकी छ ।

जिल्लाको सबै गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिसकेपछि सिङगो जिल्लालाई नै खुलादिसामुक्त घोषणा गरिदै आएको छ । गाउँपालिका तथा नगरपालिकाको हकमा जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण गरेपछि खुला दिसामुक्त गरिन्छ भने जिल्लालाई घोषणा गर्नका लागि क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ ।

जिल्लाको सत प्रतिशत घरमा चर्पी बने पनि क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण गर्ने क्रममा रहेकाले ती जिल्ला खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेको खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले बताउनुभयो । अहिले देशका ७५ जिल्ला मध्ये ३८ जिल्ला खुलादिसामुक्त भइसकेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार