
भोजपुर : भोजपुरको षडानन्द नगरपालिकामा अरुण नदीको पानी लिफ्टिङ गरी वितरण गर्ने भएको छ । खानेपानीको समस्या झेल्दै आएको षडानन्द नगरपालिकाको वडा नम्बर ६ साल्माका ८ सय घरपरिवारलाई अरुण नदीको पानी वितरण गर्न लागेको हो ।
खानेपानी आयोजनाको काम शुरू भईसकेको र आगामी ५ बर्षभित्र सम्पन्न गरी वितरण गरिसक्ने लक्ष्य नगरपालिकाका मेयर वीरबल राईले बताउनुभयो । ‘गाउँ भन्दा माथिल्लो भेगमा पानीको मुहान नभएपछि अरुण नदीको पानी लिफ्टिङ गरी वितरण गर्ने निर्णयमा पुग्यौं’ मेयर राईले भन्नुभयो । उहाँका अनुसार आयोजना सम्पन्न गर्न करिब ३० करोड लागत लाग्नेछ ।
नगरपालिकाले गत वर्ष १० लाख लागतमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।
पानीको समस्याले स्थानीय बसाइँ सर्न थालेपछि खानेपानीलाई प्राथामिकतामा राखेर काम गरिरहेको नगरपालिकाले जनाएके छ । आयोजना समयमै सम्पन्न गरी खानेपानी वितरण गर्न सके साल्माका बासिन्दाले भोगिरहेको खानेपानीको समस्याबाट मुक्ति पाउने साल्माका श्रीकृष्ण बोगटीले बताउनुभयो ।
नगरपालिकाको बृहत खानेपानी आयोजना अन्तर्गत वडा नम्बर १ र २ का लागि साउने, छाँगे, भुसुने खानेपानी आयोजनाको काम गरिरहेको छ । अन्य वडाका लागि लम्सुवा खोला खानेपानी आयोजना सञ्चालन हुने क्रममा रहेको मेयर राईले बताउनुभयो ।


933 पटक हेरिएको 

