डोटी – कक्षा ९ मा पढ्ने देवी शर्माले कक्षा ८ मा पढ्दा महिनावारीका समय विद्यालय आउन पाइनन् । विद्यालय जान नपाउँदा नियास्रो मन हुने भएकाले उनले घरभित्रै लडाइँ थालिन् । तर उनलाई विद्यालय आउने घरबाट अनुमति मिलेन । उनले जुक्ति निकालिन् । आफूलाई असाध्यै माया गर्ने दाइ गणेशको सहारा लिइन् । गणेशलाई विद्यालयमा पढाउन आउने शिक्षिकाहरूको उदाहरण देखाएर आमाबुबालाई सम्झाउन लगाइन् । दाइले घरभित्र भुमिका खेले ।
दाई र उनको संघर्षले कक्षा ९ मा भने विद्यालय जान पाउने घरबाट अनुमति पाइन् । आजभोलि उनी नियमित विद्यालय आउने गरेकी छन् । उनलाई महिनावारी भएका बेला पनि विद्यालय आउने छात्राका रुपमा शिक्षकहरूले चिन्ने गरेका छन् ।
त्यस्तै अर्की छात्रा हुन्, कक्षा ९ की निर्मला भट्ट । निर्मलाले आफ्नी आमा पार्वतीको पुरातन सोच बदल्न शिक्षिका गौरी जोशीको सहारा लिइन् । छिमेकीसमेत रहेकी गौरीले उनकी आमालाई लगातार सम्झाएपछि निर्मलाले विद्यालय पढ्न पाएकी छन् । आफ्नो ब्यक्तिगत प्रयासबाट केही विद्यार्थीलाई महिनावारीका बखत विद्यालय ल्याउन सफल भए पनि अझै कतिपयले नमानेकामा शिक्षिका गौरीको दुखेसो छ । उनले आफ्नो एकल प्रयासले मात्रसबै छात्रालाई विद्यालयमा ल्याउन सम्भव नहुने बताइन् ।
‘म १३ वर्षदेखि यहि विद्यालयमा महिनावारी हुँदा पनि नियमित पढाउँदै आएकी छु । तर मलाई केही भएन भनेर उदाहरण दिँदा पनि अभिभावकले छोरी पठाउन मानिरहेका छैनन्,’ उनले भनिन्, ‘जनचेतनाको खाँचो छ, घरदैलो अभियानै चलाउनुपर्ने हो कि ?’
कन्तिपुरबाट साभार गारिएको : छाउपडी प्रथा : विद्यालय जान घरबाटै रोक – मोहन शाही


935 पटक हेरिएको 

