मेलम्चीको नयाँ मिति : २०७७ असारमा काठमाडौमा वितरण गरिने

 1030 पटक हेरिएको

 

सिन्धुपाल्चोक : खानेपानी मन्त्रालयको सचिव फेरिदै पिच्छे मेलम्चीको खानेपानी ल्याईने मिति पनि फेरिन्छन् । आयोजना प्रमुख र ठेकेदार कम्पनी नै फेरिएपछि पछिल्लो पटक मेलम्चीको भाखा २०७७ असारमा पुर्‍याईएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्रीले मेलम्चीको खानेपानी आगामी असार मसान्तभित्र काठमाडौं उपत्यकामा वितरण गरिसक्ने बताउनुभयो । तोकिएको समय भन्दा अगावै काम सम्पन्न गरेमा ठेकेदार कम्पनीलाई बोनस दिने व्यवस्था भएकाले अहिलेको ठेकेदार कम्पनीले सोही अनुरुप काम गरिरहेको आयोजना प्रमुख खत्रीको दाबी छ ।

तोकिएको समय भन्दा अगावै काम सम्पन्न गर्ने ठेकेदार निर्माण सम्झौताको १० प्रतिशत रकम बोनस स्वरुप उपलब्ध गराईने व्यवस्था छ । इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेपछि सरकारले चीनको सिनो हाइड्रोसँग मेलम्चीको बाँकी काम सम्पन्न गर्न सम्झौता गरेको थियो ।

गत असोजमा सम्झौता गरेको कम्पनीले १५ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । सम्झौता बमोजिम एक बर्षपछि अर्थात २०७७ पुसमा मात्र काम सम्पन्न हुनेछ । तर चिनिया कम्पनील सो समय अगावै काम सम्पन्न गरी खानेपानी वितरण गर्ने गरी काम गरिरहेको आयोजना प्रमुख खत्रीले बताउनुभयो । हाल खानेपानी आयोजनामा करिब ३ सय जना नेपाली र ७० जना चिनियाँ कामदार परिचालत गरिएको छ ।

 

सिनोले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा टनेलिङ, हेडबक्स र गेटहरुको काम गरिरहेको छ । हेडबक्सको ९० प्रतिशत र टनेलको ६० प्रतिशत काम सम्पन्न भईसकेको आयोजना प्रमुख खत्रीले बताउनुभयो । असार मसान्तभित्र डाइभर्सनबाट भएपनि पानी वितरण गर्ने गरी काम भईरहेको आयोजना प्रमुख खत्रीको दाबी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार