खानेपानी तथा सरसफाइ विधेयकका बिषयमा व्यापक छलफल

 925 पटक हेरिएको
🔗
3
Shares

 

सिन्धुपाल्चोक : संसदको विकास तथा प्रविधि समितिमा छलफलको क्रममा रहेको खानेपानी तथा सरसफाइ विधेयक २०७६ उपर छलफल गरिएको छ । संसदको हिउँदे अधिवेशन चलिरहँदा कानुनविद, सम्बन्धित बिषयका ज्ञाता, समितिका सभापति एवं समितिका सदस्यहरु, सांसद, नागरिक समाजका प्रतिनिधीहरु र सरोकारवालाहरुको सहभागितामा विधेयकका बिषयमा व्यापक छलफल गरिएको हो ।

वाटर एड र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को सहकार्यमा सिन्धुपाल्चोकको सुकुटेमा आयोजित छलफल कार्यक्रममा कानुनविद एवं प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले खानेपानी तथा सरसफाइ विधेयकलाई हतारमा स्वीकृत नगरी व्यापक छलफलको माध्यमबाट परिस्कृत बनाएर मात्र पास गर्न आग्रह गर्नुभयो । ‘संशोधनकर्ताहरुलाई समेत राखेर, सुझाएर विकास समितिको औपचारिक बैठक बाहेकका समयमा पनि व्यापक छलफल गरेर यो यो बिषय अटाउन सकिन्छ, यो यो बिषय यी र यस्ता कारणले समेट्न सकिदैन भनेर छलफल गर्नुहोस्’ उहाँले आग्रह गर्नुभयो ।

उहाँले भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता राष्ट्रमा भएको खानेपानी सम्बन्धी कानुनको उदाहरण दिदै कानुन निर्माणको क्रममा सजगकता नअपनाउँदा भविश्यमा आउन सक्ने विवाद र द्धन्द्धका बिषयहरु समेत औल्याउनुभयो । उहाँले खानेपानी तथा सरसफाइ विधेयक २०७६ को दफा ८ मा भएको व्यवस्था सम्बन्धी अझै व्यापक छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष दाहालले विगतका अनुभव र अन्तर्राष्ट्रिय नजिरहरुको समेत व्याख्या गरेपछि संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले आफूले समय लगाएर भएपनि खानेपानी तथा सरसफाइ विधेयकलाई परिस्कृत गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले सांसदहरुले दर्ता गराएको संसोधन प्रस्ताव मात्र नभई अन्य सरोकारवालाले राखेको सुझावलाई समेत समेट्न प्रयास गरिने बताउनुभयो । ‘यी यी कुरा चाहिं यो कारणले समेट्न आवश्यक छ भनेर औचित्य पुष्ट्याई हुनुपर्‍यो, यहाँ त आफ्नो स्वार्थ पूर्ति कसरी हुन्छ ? यो शब्द राख्यो भने चाहिं मेरो पक्षमा ऐन बन्छ भन्ने हिसाबले आफू अनुकुलको ऐन बनाउन खोजिन्छ । तर त्यसो हुनु भएन, यो राज्यका लागि आवश्यकता छ भन्ने बोध गराउन सक्नुपर्‍यो’ उहाँले भन्नुभयो ।

छलफल कार्यक्रममा खानेपानी मन्त्रालयका सह सचिव रमाकान्त दुवाडीले खानेपानी र सरसफाइको अवस्था, भावी कार्यदिशा तथा तीन तहको सरकारको भूमिका सम्बन्धी प्रस्तुतीकरण गर्दै विधेयकले गरेको व्यवस्थाका बिषयमा समेत जानकारी गराउनु भएको थियो ।
चालु हिउँदे अधिवेशनबाट विधेयक पारित गर्नु अघि विधेयकमा परेका संसोधन प्रस्ताव र परिमार्जन गर्न सकिने बिषयमा सरोकारवालाको मतलाई समेत दर्शाएर परिस्कृत बनाउन सुझाव दिने अभिप्रायले छलफल कार्यक्रमको आयोजना गरिएको हो । छलफल कार्यक्रम आज सकिनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार