गाउँमा खानेपानीको धारा बनेपछि खसी काटेर भोज

दिक्पाल गिरी, रामेछाप : कोही खसी काटेर भुत्ल्याउदै थिए, कोही चामलको चौलनी तर्दै थिए, मानिसको चहलपहल उस्तै थियो । साउण्ड बक्समा गीत पनि घन्किरहेको थियो ।

केटाकेटी, युवायुवती र वयस्क मानिसहरुको राम्रै जमघट थियो । झट्ट हेर्दा लाग्थ्यो त्यहाँ विहेबारी भइरहेको छ । तर यथार्थ फरक थियो । रामेछापको बढिमुहान गाउँमा खानेपानी उपलब्ध भएपछि गाउँले खसी काटेर भोज खाने तरखरमा थिए ।

‘घर आँगनमै पानीको धारा आएपछि हामी खुसी भयौ, यही खुसीयालीमा घरलौरी रकम संकलन गरेर खुसीयाली मनाएका हौं, खसी भुत्ल्याउदै गरेका काजीदास श्रेष्ठले भन्नुभयो । धारामा पानी आएपछि दुःखका दिन सकिएको अनुभूति भएकाले मनखुसीले पैसा उठाएको र खसी किनेर बाँकी रहेको पैसाले भोजका अन्य सामग्री किनेको श्रेष्ठले बताउनुभयो ।

नाम बढिमुहान भएपनि बढिमुहानमा पानीको स्रोत कतै नभएपछि तामाकोशीको धमिलो खानेपानी पिउन बाध्य थिए । बढिमुहानमा ओढारे र आम्बोटेबाट पानी ल्याउन प्रयास थालेको पाँच बर्ष भएपनि अहिलेसम्म बढिमुहानका बासिन्दा तामाकोशीकै धमिलो पानी ओसारेर पिउन बाध्य थिए ।

यसपटक गरिबी निवारण कोष र जिल्ला समन्वय समिति अन्तर्गतको विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमको झण्डै ७० लाख रुपैयाँ र स्थानीय बासिन्दाको श्रमदान गरी झण्डै दुई किलोमिटरको दुरीमा रहेको तामाकोशी किनारमा खनेको इनारबाट पानी लिफ्टिङ गरी बढिमुहान पु-याइएको हो ।

जेठ लागेपछि उर्लिने तामाकोशीको धमिलो पानी पिउँदा पिउँदा दिक्क भएका बढिमुहानबासी गाउँमै पानी नआए गाउँ छोड्ने तयारीमा थिए । ‘जाँदा एक घण्टा र पानी लिएर फर्किदा डेढ घण्टा गरी दैनिक अढाई घण्टा एक गाग्री पानी ल्याउँदमै वित्थो, पानी बोक्दा बोक्दा हाम्रो ढाड खुइलिएको छ, अब त पानी समस्या हटेपछि जस्तो दुःख आएपनि हामीले सुखै लाग्नेछ’ बढिमुहानकी पार्वती ढुङ्गेलले भन्नुभयो ।

लिफ्टिङ खानेपानी आयोजनाको शुभारम्भ गर्दै मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेले नगरक्षेत्रका सबै घरमा आधारभूत खानेपानीको सुविधा पु-याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार