सम्पन्न नहुँदै प्रधानमन्त्री ओलीद्वारा तमोर लिफ्ट खानेपानीको उदघाटन

🔗
10
Shares

पाँचथर : पाँचथरको सुख्खा क्षेत्रको रुपमा चिनिने कुम्मायक गाउँपालिकाको यासोकमा तमोर लिफ्ट खानेपानी आयोजनाको उदघाटन गरिएको छ । आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उदघाटन गर्नुभएको हो । तमोर नदीबाट खानेपानी लिफ्टिङ गरी सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले चार बर्ष अघि यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना सुरु गरिएको थियो ।

प्रधानमन्त्री ओलीले यासोक बजारमा एक धाराबाट पानी खोलेर आयोजनाको उदघाटन गर्नुभएको हो । आयोजना उदघाटन गर्दै प्रधानमन्त्री ओलीले देश समृद्धिको बाटोमा हिडिसकेको बताउनुभयो । सरकारको मुख्य नारा नै ‘समृद्ध नेपाल सुखी नेपाली ’ रहेकाले देश अब समृद्धिको बाटोमा लम्की सकेको बताउनुभयो ।

खानेपानीको मुहान समेत नरहेको यस क्षेत्रमा अहिले पनि खानेपानीको लागि घण्टौ टाढा सम्मको बाटो धाउनु पर्ने बाध्यता छ । आयोजना निर्माण पूर्व यहाँका तीन हजार ४३ घरमा खानेपानी पु९याउने लक्ष्यका साथ काम भए पनि हालसम्म दुई हजार २०० घरमा खानेपानी जडान भइसकेको छ । यही फागुन महिनाभित्र सबै घरमा खानेपानी पु९याउने लक्ष्य राखिएको उपभोक्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले जानकारी दिनुभयो ।

खानेपानी आयोजना सम्पन्न भएपछि कुम्मायक गााउँपालिकाको वडा नं. १,३,४ र ५ का १३ हजार ८४० जनसङख्या लाभान्वित हुने अध्यक्ष सम्बाहाम्फेले बताउनुभयो । आयोजनाको कुल लागत ५१ करोड ३० लाख २० हजार ५ सय ६८ रहेको छ । कुम्मायक–५ स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पुर्‍याई खानेपानी वितरण शुरु गरिएको छ । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुमुघाटबाट सात स्थानमा रहेको पम्पिङ स्टेशन (ट्याङ्की) को सहायताले डाँडासम्म पानी पुर्‍याइएको हो ।

प्रति सेकेन्ड २०.३ लिटर पानी झार्ने आयोजनाको लक्ष्य छ । आयोजनाको प्रसारण लाइन तर्फ मुहानमा एउटा ट्याङ्की, पम्पिङ स्टेशन सात, खोल्सा क्रसिङ र कार्यालय भवन एक एक, पानी ट्याङ्की ११ र चौकीदार घर १० निर्माण गरिएको आयोजनाले जनाएको छ । नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७.४ किलोमिटर तथा वितरण पाइप लाइन १९२.५१ किलोमिटर बिछ्याईको छ । वितरण लाइन तर्फ अग्नि नियन्त्रक १५, खोल्सा क्रसिङ ३४ र भल्भ च्याम्बर ११५ छन् ।

तमोर लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि बर्षेनी बसाई सराई दर पनि रोकिने अपेक्षा गरिएको छ । खानेपानीकै अभावमा कुम्मायक गाउँपालिकाको विभिन्न गाउँबाट तराई तथा बजार क्षेत्रमा बसाई सर्ने क्रम जारी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार