छाउगोठ न डर, घरमै बास, छैन छेकबार

अछाम : कहिले गाइगोरुसँगै त कहिले खेतबारीको कान्लामा । रातभर असहज र अनिँदै बस्नुपर्ने सास्तीबाट छुटकारा पाइने भएपछि ढकारी गाउँपालिका–१ का किशोरी दंग छन् । ढकारी–१ लाई छाउगोठमुक्त घोषणा गरिएपछि उनीहरू खुसी भएका हुन् ।

पुरुषहरू पनि समूहमा आबद्ध भएर अभियानमा जुट्नुपर्छ । गोठ भत्काएर घोषणा गर्नु त औपचारिकता मात्रै हो ।

‘गोठमा जान्नँ, घरभित्रै बस्छु भन्दा गाउँसमाजकै बुढापाका विभिन्न किसिमका डर देखाउँथे,’ स्थानीय कविता बुढाले भनिन्, ‘विवाह गरिसकेपछि पनि देउता लाग्ने भन्दै नानाथरी डर देखाएपछि घरभित्र बस्न सकेकी थिइनँ । अहिले त गोठ पनि छैन । डर पनि छैन ।’ गुरुकुल मावि, ढकारीमा कक्षा १० मा पढ्ने निशा बुढा महिनावारी भएका बेला सुरक्षित रूपमा सबैसँग घरमै बस्नुपर्ने बताउँछिन् । ‘गाउँका महिलाहरूको स्वर छाउगोठविरुद्ध भए मात्रै रूढिवादी परम्परा अन्त्य हुने हो,’ उनले भनिन्, ‘अब त भत्काइएका छाउगोठ फेरि बनाउन दिन्नौं ।’

छाउगोठ परम्परा हटाउन बुढापाका र गाउँका अगुवाले आफ्नै घरबाट सुधार गर्नुपर्ने बताउँछिन् ढकारी–१ कि चन्द्रा नेपाली । ‘समाजमा अझै पनि ठूलाबडा र हुनेखानेले जे गर्‍यो, त्यही देखासिखी गर्ने चलन छ,’ उनले भनिन्, ‘स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी र नेताहरूका घरमा पहिले परिवर्तन हुनुपर्छ ।’ उनका अनुसार प्रहरी जनप्रतिनिधि र समाजका अगुवाले निरन्तर अनुगमन गरे परम्परादेखि जरा गाडेर बसेको छाउपडी मानसिकता भत्काउन गाह्रो हुँदोरहेनछ भन्ने यसपाला प्रस्ट भएको छ ।

नेपालीले भनिन्, ‘गोठ भत्काएर तामझामसाथ छाउगोठमुक्त वडा घोषणा गरिएको छ । अब फेरि जनप्रतिनिधिको घरमा छाउगोठ बन्नु भएन । समाज आफैं परिवर्तन हुनेछ ।’ पुरुषको सोचाइ र व्यवहारकै कारण छाउपडी कायम रहेको ढकारी–१ डुफाका मीन बुड्थापाको दाबी छ । ‘छाउगोठमा महिलाले दुःख भोग्छन् तर घोषणामा पुरुषले भाषण गर्छन् । हामी पुरुषले आमा, बहिनी, श्रीमतीलाई बुझाउन सक्नुपर्छ,’ उनले भने, ‘पुरुषहरू पनि समूहमा आबद्ध भएर अभियानमा जुट्नुपर्छ । गोठ भत्काएर घोषणा गर्नु त औपचारिकता मात्रै हो ।’ उनले छाउगोठलाई अन्य काममा उपयोग गर्ने नाममा नभत्काउने तर केही समयपछि महिलाहरू पुनः छाउगोठमै हेलिनुपर्ने बाध्यता रहेको बताए । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

छाउगोठ भत्काउने क्रममा कुनै पनि वडामा अवरोध नआएको ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले बताए । उनका अनुसार ८ वटा वडा रहेको ढकारीमा आठ सय छाउगोठ भत्काइएका छन् । सबै वडा छाउगोठमुक्त वडा घोषणा भइसकेकाले फागुन १४ मा गाउँपालिकालाई नै छाउगोठमुक्त घोषणा गर्ने तयारी गरिएको उनले सुनाए । जिल्लाका १० स्थानीय तहमध्ये कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाले छाउगोठमुक्त घोषणा गरेका छन् । अरु सात स्थानीय तह पनि छाउगोठमुक्त घोषणाको अन्तिम चरणमा छन् । अछाममा हालसम्म ६ हजार छाउगोठ भत्काएको प्रहरीले जनाएको छ । फागुन मसान्तभित्र छाउगोठमुक्त जिल्ला घोषणाको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । ‘गृह मन्त्रालयको परिपत्रपछि जिल्लामा अभियानले तीव्रता पाएको छ । अब जिल्लालाई नै छाउगोठमुक्त घोषणा गर्छौं,’ उनले भने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार