काठमाडौ : काठमाडौं महानगरपालिका वडा नं. ७ को सिफल, पनेकु टोलको ढल निकास बन्द भएपछि स्थानीयको घरमा छिरेको छ । स्थानीय भगवती थापाले ढल अवरुद्ध गरी टहरा निर्माण गर्दा स्थानीयको घरमा ढल पसेको हो । उक्त ढल निकास २०५८ सालमा उपभोक्ता समिति र महानगरको सहकार्यमा बनेको हो । ढल निर्माण भएपछि स्थानीय रमेश बस्नेतले आफ्नो जमिन अर्कोलाई बेचेको र त्यसको दुई तीन वर्ष पछि तेस्रो व्यक्ति भगवती थापाले जमिन किनेर ढल बग्न नदिने गरी टहरा निर्माण गरेपछि समस्या उब्जिएको स्थानीय बताउँछन् । टहरा निर्माण भएको अर्को छेउबाट भने ढलको निकास धोबीखोलासम्मै छ ।
‘महानगरपालिका र उपभोक्ता समिति मार्फत बनेको ढल धोबीखोलामा पुग्दै थियो, स्थानीय भगवती थापाले ढल बग्ने नाली बन्द हुने गरी टहरा हालेकाले समस्या आएको हो ।’ स्थानीय हरमोहन भट्टराईले बताउनुभयो । ढलको निकास बन्द भएपछि वरपरसम्म दुर्गन्ध फैलिएको छ । करिब १० घरको ढल बीचमा रोकिएको छ । जसले गर्दा ढल नालीबाट जमिनको सतहमा निस्किएको छ ।
जनप्रतिनिधिले पटक पटक अनुगमन गरेपनि ढल निकास खोल्न कुनै पहल नगरेको स्थानीयको आरोप छ । तीन महिनाको अवधिमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ र वडाका जनप्रतिनिधिले समेत अनुगमन गरिसकेको भट्टराईले बताउनुभयो ।