काठमाडौ : फागुनलाई बिदाई गरेर चैत्र भित्रिंदा पनि बिहान बेलुकी काठमाडौको वातावरण चिसै छ । झनै असार साउनमा जस्तो बाक्लो बादल सँगै सिमसिम पानी परेपछि त अछ्यू छ्यू गर्दै सिरक भित्रै गुडल्किएर बसुँ झैं लाग्छ । न्यानो ओछ्यान नछोडी कोरोनाको त्रासले घरबाहिर ननिस्कने प्रतिज्ञा आफैसँग गरिरहेका बेला वाग्मती सफाइ अभियन्ता भने हातमा छाता बोकेर तिलगंगाको पहेंलो पूल पुगिसकेका थिए ।
बाग्मती सफाई महाअभियानको ३५६ औं हप्तामा अभियन्ताले तिलगंगा पहेलो पुल आसपासबाट १ मेट्रिक टन फोहोर संकलन गरेर व्यवस्थापन गरेका छन् । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष सहित समितिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं महानगरपालिका, नेपाली सेना र अन्य ६ वटा संघ सस्था तथा अभियन्ता गरी १५० जना भन्दा बढीको सहभागिता रहेको सफाइ अभियन्ता माला खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी ३५७ औं हप्ताको सफाइ अभियान भत्केको पुल वरिपरि हुनेछ ।