पीन एकता प्रक्रियामा बहुमत सचिवालय सदस्यहरुको असहमति

🔗
7
Shares


काठमाडौ : नेकपा समर्थित इन्जिनियरहरुको संस्था प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पीन) एकतामा बहुमत सचिवालय सदस्यहरुले असहमति जनाएका छन् । एकता प्रक्रियामा देखिएका असहमतिलाई छलफलको माध्यमबाट निरुपण गर्नुपर्नेमा एकता कार्यदलले दिएको सल्लाह सुझावलाई समेत निषेध गरी अध्यक्ष र महासचिव एकलौटी ढंगबाट अगाडि बढेपछि विवाद उत्कर्षमा पुगेको हो ।

अध्यक्ष र महासचिव एकलौटी ढंगबाट अगाडि बढ्न खोजेको भन्दै पीनका १० जना सचिवालय सदस्यहरुले केन्द्रीय कमिटी समक्ष असहमति पत्र समेत बुझाएका छन् । सचिवालय सदस्यहरुले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष शम्भु श्रेष्ठ, इन्चार्ज मनोज जंग थापा र सहइन्चार्ज राम कुमारी झाँक्रीलाई समेत भेटी असहमति बारे जानकारी गराएका छन् ।

सचिवालय समितिको बैठकमा प्रदेशहरुको कमिटी गठन एकता कार्यदलबाट आउन नसके सर्वसम्मत हुन नसकेका विवादहरुलाई सचिवालय बैठकमा छलफल गरी टुङ्ग्याउने निर्णय भएको थियो । तर अध्यक्ष र महासचिवले एकलौटी तरिकाले अल्पमत र बहुमतको आधारमा एकता प्रक्रिया अगाडि बढाउने बाटो समातेपछि असहमति जनाउनु परेको सचिवालय सदस्यहरुले बताएका छन् ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पीन) का अध्यक्ष शम्भु श्रेष्ठले भने एकताका लागि सबै अधिकार कार्यदलमा निहित रहेको र केन्द्रिय कमिटीले कार्यदलले ल्याएको बिषयलाई अनुमोदन मात्र गर्ने बताउनुभयो । उहाँले विवादित बिषयलाई छलफलको माध्यमबाट निकास खोजिने बताउनुभयो ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पीन) मा भूगोलको आधारमा सात, युनिभर्सिटी प्रदेश र संस्थानहरुमा कार्यरत इञ्जिनियरहरुको संगठन गरी ९ वटा प्रदेश कमिटी छन् । ती मध्ये वाग्मती प्रदेश कमिटी, युनिभर्सिटी प्रदेश कमिटी र सुदुरपश्चिम तथा कर्णाली प्रदेश कमिटी एकतामा सहमति जुट्न बाँकी छ ।

एकता प्रक्रियामा प्रदेश र जिल्ला अध्यक्ष, सचिव, उपाध्यक्ष र कोषाध्यक्ष तय गर्दा पेशागत राजनीतिक वरिष्ठता र इन्जिनियरिङ राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेलेकोलाई प्राथमिकता दिनुपर्ने सचिवालय स्तरीय कार्यदलले सुझाव दिएको थियो । प्रतिवेदनमा उल्लेख गरिएको कुरालाई समेत लत्याएर विवादित ठाउँमा समेत सचिवालयका पूर्व निर्णयका विरुद्ध अध्यक्ष र महासचिव स्वयं संलग्न भएको सचिवालयका एक सदस्यले बताए ।

पीन एकता प्रक्रिया : कहिले के भएको थियो ?

१. २०७६ भदौ ७ गते केन्द्रिय कमिटीको बैठक : प्रदेश तथा जिल्ला तह एकता सम्बन्धमा निर्णय भएको । उक्त निर्णय अनुसार प्रदेश तथा जिल्ला एकता कार्यदल पनि गठन गरिएको छ ।

२. २०७६ माघ १२ गते केन्द्रीय सचिवालयको बैठक : एकता प्रक्रियाका जटिलतालाई हल गर्ने गरी सचिवालय सदस्यहरुबाट ४ सदस्यीय कार्यदल गठन ।

३. २०७६ माघ १९ गते सचिवालय बैठक : कार्यदलले एकता प्रक्रियामा प्रदेश र जिल्ला अध्यक्ष, सचिव, उपाध्यक्ष र कोषाध्यक्ष तय गर्दा पेशागत राजनीतिक वरिष्ठता र इन्जिनियरिङ राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेलेकोलाई प्राथमिकता दिनुपर्ने प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनलाई सचिवालय बैठकले स्वीकृत गरेको ।बैठकले २०७६ फागुन १ गतेसम्म प्रदेश कमिटीको गृहकार्य पूरा गर्ने र फागुन ७ गते कमिटी घोषणा गरी प्रदेश एकता सम्पन्न गर्ने निर्णय गरेको ।

४. २०७६ साल फागुन ४ गते सचिवालय बैठक : केही प्रदेशमा कार्यदलभित्रै असहमति रहेको र फाल्गुन ७ गतेसम्म सहमति प्रयास गर्ने, उक्त समयावधि सम्म कार्यदलभित्र सहमति हुन नसकेमा असहमति सहित सचिवालय बैठकमा पेश गर्ने निर्णय भएको ।

५. २०७६ साल चैत्र २ गते, सचिवालय बैठक : निर्धारित समय भित्र प्रदेश इन्चार्ज मार्फत वा अन्य माध्यमबाट औपचारिक रुपमा दर्ज भएका असहमतिबारे महासचिवद्वारा बैठकमा जानकारी गराईएको ।

६. २०७६ चैत्र ५ गते महासचिवद्वारा इमेल मार्फत परिपत्र : २०७६ चैत्र २ गतेको सचिवालय बैठकमा भएको छलफल विपरित परिपत्र भएको र १० जना सचिवालय सदस्यहरुले असहमति जनाएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार