
काठमाडौ : आज विश्व पानी दिवस, पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
विश्वभर पानीको स्रोत सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । त्यस यता हरेक बर्षको मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउँदै आएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरसका कारण यस बर्ष विगतका बर्षहरुमा जस्तो औपचारिक कार्यक्रमहरु भने नहुने भएका छन् । विश्व पानी दिवस मनाउन थालेको तीन दशक भईसक्दा पनि नेपालमा भने अहिलेसम्म पानीको उपयोग सम्बन्धी कानुनको अभाव छ ।
संसदमा विचाराधीन खानेपानी तथा सरसफाइ विधेयकले पानीलाई विदेश निर्यात गरी अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने, पानीको बहुउपयोग गर्ने तथा पानीको स्रोत संरक्षण गरी दिगो विकास गर्ने लगायत व्यवस्था गरेको छ ।
विश्व पानी दिवस मनाईरहँदा नेपालको ११ प्रतिशत जनसंख्याले अझै पनि खानेपानीको आधारभूत सेवा नपाएको सरकारी तथ्याङ्क छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार ८९ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहूँच पुगेको छ ।
ती मध्ये २० प्रतिशत नागरिकले उच्च तथा मध्यम स्तरको खानेपानी उपभोग गरिरहेका छन् । सरकारले पन्ध्रौं योजनाको अन्त्यसम्ममा ४० प्रतिशत जनसंख्यालाई उच्च तथा मध्यम स्तरको खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ ।


1784 पटक हेरिएको 

