रसुवा : रसुवाको ९० प्रतिशत खानेपानीमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाले १० वटा मुहानको नमूना संकलन गरी परिक्षण गर्दा ९ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको कार्यालय प्रमुख डा.झलक गौतमले वताउनुभयो ।
कार्यालयले पार्वतीकुण्ड गाउँपालिकाको गत्लाङ, नौकुण्डको भोर्ले र सरमथली, गोसाइकुण्डको धुन्चे, स्याफ्रुबेशी कालिकाको कालिकास्थान र उत्तरगया गाउँपालिकाको बोगटीटार मुहानको पानीको परिक्षण गरेको हो ।
‘पाँच वटा गाउँपालिकाको १० वटा पानीको मुहान र धाराको पानीको परिक्षण गर्दा १० प्रतिशत खानेपानी मात्र सुरक्षित देखियो’ गौतमले भन्नुभयो ।
वर्षायाम सुरु भएपछि पानीको अवस्था अध्ययन गर्न पानीको परिक्षण गरिएको कार्यालयले जनाएको छ । रसुवालाई यसै बर्ष खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भईरहँदा खानेपानीमा मानव दिसामा पाईने जिवाणु कोलिफर्म देखिनु चिन्ताको बिषय भएको गौतमले बताउनुभयो । ‘पानीमा दिसामा पाइने जीवाणु भेटिनु भनेको मानिसहरु अझै पनि खुला दिसा गरिरहेका छन् भन्ने हो, खुला दिसा नगरी पानीको मुहानमा प्रवेश हुने कुरा आउँदैन’ उहाँले भन्नुभयो ।
पानीमा देखिने ‘कोलिफर्म’ जीवाणु मानव तथा पशुको दिसामा पाइन्छ । पानीमा कोलिफर्मको मात्रा १० भन्दा बढी पाइएमा त्यसमा रहेका जीवाणु सक्रिय हुने भएकाले पिउन अयोग्य मानिने उहाँले वताउनुभयो ।
दुषित पानीबाट झाडापखाला, आउँ, हैजा, जुका जण्डिस लगायत रोगको महामारी फैलन सक्ने भएकाले कार्यालयले पूर्वतयारी गरिसकेको जनाएको छ । ‘पूर्व तयारी स्वरूप सरसफाइको काम, पानी शुद्धीकरण, जनचेतनामूलक कार्यक्रम भइरहेको छ’ गौतमले भन्नुभयो ।
बिगतका बर्षहरुमा पनि सदरमुकाम धुन्चे, यार्सा, भार्खु, गत्लाङ लगायतका ठाउँमा कोलिफर्म भेटिएको थियो । दुषित पानीकै कारण झाडापखालाका बिरामी अस्पताल आउन थालेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । दुषित खानेपानीलाई उमालेर पिएमा पानीमा हुने जीवाणु नष्ट हुने र रोग लाग्न नपाउने चिकित्सकहरु बताउँछन् ।