भक्तपुर : भक्तपुरको खारीपाटी हुँदै नगरकोट जाने मूलबाटोको बायाँतिर देखिन्छ अग्लो प्रवेशद्वार । नगरकोट फेदीबाट उकालो सुरु हुनै लाग्दा भेटिने प्रवेशद्वारमा लेखिएको छ ‘पूर्ण सरसफाइतर्फ अग्रसर नगरकोट फेदी नमुना समुदायमा यहाँहरुलाई हृदयदेखि हार्दिक स्वागत गर्दछौं ।’ नमुना समुदायको प्रवेशद्वारबाट छिर्ने वित्तिकै बाटोको माथिल्लो पट्टि देखिने घर हो ‘निरु योगा होमस्टे’ ।

‘निरु योगा होमस्टे’ साढे तीन बर्ष अघि योगी राजन बाँस्तोलाले स्थापना गर्नुभएको हो । सफा सुग्घर, शान्त, स्वच्छ र हरियाली वातावरण, सुरक्षित खानेपानीको प्रबन्ध, सुविधायुक्त र सफा शौचालय तथा बाथ रुम, स्थानीय खानाको परिकार र आतिथ्य सत्कार होम स्टेको विशेषता हो ।
त्यसो त ‘होमस्टे सञ्चालन कार्यविधि २०६७’ ले पनि होमस्टे सञ्चालनका लागि पाहुना सुत्ने कोठामा फोहोर फाल्ने एउटा टोकरी (डस्टविन) को व्यवस्था हुनुपर्ने, सुविधायुक्त र सफा शौचालय हुनुपर्ने, पाहुना राख्ने घर/कोठा नजिक गाई भैसी अथवा भेडाबाख्रा, सुगुँर, कुखुरा आदि वाँध्न वा पाल्न नहुने, मुसा, लामखुटृे, उडुस, उपियाँ आदिबाट सुरक्षित हुनुपर्ने, दुर्गन्ध वा गाई भैसीको गोठबाट टाढा हुनुपर्ने, खुला नाली र ढल हुन नहुने जस्ता आधारभूत मापदण्ड तोकेको छ ।
‘निरु योगा होमस्टे’ मा कार्यविधिले तोकेका यी मापदण्डहरु भन्दा अझ बढी सुविधा होलान् तर कम चाहिं छैन । होमस्टे सञ्चालनका लागि सरसफाइ त नभई नहुने पहिलो शर्त हो । निरु योगा होमस्टेका सञ्चालक योगी राजन बाँस्तोला भन्नुहुन्छ ‘सफा र स्वच्छ वातावरण भएन भने कोही पनि आउँदैनन्, त्यसैले होमस्टे सञ्चालनका लागि घरभित्र र बाहिरको वातावरण स्वच्छ र सफा राख्ने, खानेपानीलाई शुद्धिकरण गरेर मात्र दिने, सुरक्षित खानाको प्रबन्ध गर्ने काम त हाम्रो कर्तव्य नै हो ।’
नगरकोट फेदीलाई पूर्ण सरसफाइमा नमुना समुदायको रुपमा विकास गरिदैछ । २०७८ साल पुस मसान्तभित्र चाँगुनारायण नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने लक्ष्य अन्तर्गत नगरकोट फेदीलाई सरसफाइमा नमुना समुदायको रुपमा विकास गरिएको हो । बस्तीलाई नै सरसफाइमा नमुना बनाउने अभियानले होमस्टे व्यवसाय झनै फस्टाउँदै जाने उहाँको अपेक्षा छ ।
बस्तीमा रहेको सबै घरपरिवार स्वच्छ र सफा भएमा मात्र पर्यटकहरु पनि घुम्न र बस्न आउने उहाँको भनाइ छ । अहिले सम्म नेपाली र विदेशी दुवै खालका पर्यटक आउने र गाउँ घुमाउन लैजाँदा बाटोमा फोहोरमैला भेटिएमा किन जथाभावी फोहोर फ्याँकेको भनेर प्रश्न गर्ने गरेको उहाँको अनुभव छ । बाँस्तोला भन्नुहुन्छ ‘हाम्रो बस्ती नै सरसफाइमा नमुना भएपछि यसो घुमाउन लैजादा पनि सफा देखिने भयो, सबैतिर सफा र हराभरा भएपछि एक जना पर्यटकले अर्कोलाई भन्छन्, फेरि अर्को पर्यटक आउँछन् । यसरी नै बृद्धि हुँदै जाने हो नि ।’
उहाँको भनाइमा सरसफाइ र होमस्टे एक अर्काका परिपूरक हुन् । सरसफाइ बिना होमस्टे सञ्चालनको परिकल्पना पनि गर्न सकिदैन भने होमस्टे बिना गाउँमा सरसफाइको चेत पनि खुल्दैन । होमस्टे सञ्चालन गर्न थालेपछि घरको सरसफाइ, बोलीचाली, रहनसहनका बिषयमा वरिपरिका समुदायले समेत अंगीकार गरेको उहाँको भनाइ छ । बस्तीका सबैले आ–आफ्नो घरको सरसफाइ र वरपरको वातावरण सफासुग्घर राखेपछि होमस्टे सञ्चालनमा पनि मद्दत मिल्ने उहाँको तर्क छ ।
हेरौं यो भिडियो :
सरसफाइमा नमुना बन्दै गएको नगरकोट फेदीका अन्य घरमा समेत होमस्टे सञ्चालनको योजना बनाईरहेको नमुना बस्तीकी संयोजक रुपा लामिछानेले बताउनुभयो । नमुना बस्तीमा ६२ घरपरिवार समेटिएका छन् । २०७८ साल पुस मसान्तभित्रै पूर्ण सरसफाइ उन्मुख नगर बनाउने लक्ष्य हासिल गर्न चाँगुनारायण नगरपालिकाले ग्लोबल स्यानिटेसन फण्ड/युएन ह्याबिटाट सँगको साझेदारीमा पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।


1393 पटक हेरिएको 

