हातले अनुहार छोइरहने बानी छ ? यसरी हटाउनुहोस्

🔗
14
Shares


काठमाडौ : हामीले ध्यान दिईरहेका हुँदैनौं कि हाम्रो हात कहाँ कहाँ सम्म पुग्छ ? एकैछिन विचार गर्नुहोस् त ? टाउको चिलायो, के गर्नुहुन्छ ? हातले नै कन्याउने हो । टाउको कन्याएको केही बेरपछि पैसाको बिटो गन्नुपर्‍यो भने पनि हातको औला जिब्रोमा छुवाउदै ओसिलो बनाउँछौं । अब पैसा गनिसकेर केही बेरमा कान चिलायो भने त्यही हातको औंला कानमा घुसार्छौ ।

केहीबेर घोत्लिएर केही हेर्नुपर्‍यो वा गमेर बस्नुपर्‍यो भने अवश्य त्यो हात गाला, मुख वा च्यापुमा राख्ने गर्छौ । प्रायः चलिरहने यो हात हाम्रो शरिरको कुन कुन भागमा कतिबेला पुग्छ ? भन्ने हामीले हेक्का राखेका हुँदैनौं । एक सर्वेक्षण अनुसार मानिसले प्रत्येक एक घन्टामा तीन देखि चारपटक अनुहारका विभिन्न भाग छुने गर्छ ।
हात शरिरको सबैभन्दा चलायमान अंग भएको हुनाले नै हातलाई सफा सँग साबुन पानीले हात धोएर रुमाल वा तौलियाले पुछ्नुपर्छ भनिएको हो ।

झनै यो बेला हात साबुन पानीले मिचिमिची बिधी पुर्‍याएर धुनुपर्छ । कोरोना भाइरस (कोभिड–१९) हावाभन्दा पनि हातका माध्यमबाट आँखा, मुख तथा नाक हुँदै फोक्सोमा सहज प्रवेश हुने विज्ञहरूले बताउँदै आएका छन् । यसकारण भाइरसको संक्रमण फैलिन नदिन व्यक्ति स्वयं सजग हुन आवश्यक छ । हात र शरीरमा कोरोनाको संक्रमण फैलिएको भए पनि आँखा, नाक, मुखबाट भाइरस छिर्न नदिनु बुद्धिमानी हुन्छ ।

– विना काम अनुहारमा हातले पटक पटक छुने मानिसको बानी नै हो । यस्तो बानी हटाउँदै क्रस ह्यान्ड राख्नु उपयुक्त हुन्छ । सार्वजनिक सवारी साधन तथा शंकास्पद स्थानमा छोइहाले पनि हातलाई सकेसम्म अनुहार छुनबाट नियन्त्रणमा राख्नुपर्छ ।

–  हातमा हुने संक्रमण नाङ्गो आँखाले देख्न सकिँदैन । बजारमा पाइने सर्जिकल पन्जाले जीवाणुलाई छालासँग सीधै ‘कन्ट्याक्ट हुनबाट रोक्छ । बस, अफिस तथा घर बाहिर यात्रा गर्दा पन्जाको प्रयोग गरेमा यसले जीवाणुसँग सीधै छालाको सम्पर्क हुन दिँदैन । पन्जाको प्रयोगले वेला–वेला अनुहारमा छुने बानीमा पनि कमी आउँछ ।

–  हामीले अनायासै दिनमा धेरै पटक हातले अनुहारमा छोइरहन्छौं । मस्तिष्कको चेतविना नै सम्पर्कमा आउने हात र अनुहारलाई नियन्त्रण गर्ने हो भने मस्तिष्कलाई सजग राख्नुपर्ने हुन्छ । आँखा चिलाउने, चिउँडोमा हात राख्ने वेला एक पटक मैले के गरिरहेको छु भनेर सोच्नुपर्छ ।

–  अनुहारमा हात लानबाट पूर्ण नियन्त्रण गर्न सहज पक्कै छैन । त्यसैले, पटक पटक साबुन पानीले हात धुने गर्नुपर्छ वा स्यानिटाइजरको प्रयोग गरेर हातलाई भाइरसमुक्त राख्नुपर्दछ । आफ्नो हात सुरक्षित भएपछि अनुहार वा अन्य भागमा छोइहालेछ भने पनि संक्रमणको जोखिम कम हुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार