
हेटौंडा : खुट्टाले प्याडललाई दबाएपछि हात धुन मिल्ने धारा अर्थात Contact less Hand wash station मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा उपमहानगरपालिकाको अति ब्यस्त स्थान बुद्ध चोक, बसपार्क, हेटौंडा अस्पताल र मानस चोकमा राखिएको छ ।
हेटौंडाका सम्पूर्ण लायन्स तथा लियो क्लबको संयोजन तथा गोदावरी स्टिल्स प्रा.लि., लायन्स क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष लायन सरोज पोख्रेल र सोही क्लबका पूर्व अध्यक्ष लायन रविन्द्र घिमिरेको सौजन्यमा ती हात धुने स्टेशनको स्थापना गरिएको हो । हात धुने स्टेशनको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर, प्रमुख जिल्ला अधिकारी, हेटौंडा अस्पतालका अध्यक्ष र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायक उपरिक्षकले छुट्टाछुट्टै कार्यक्रम गरी उदघाटन गरिएको हो ।

धाराको उदघाटन गर्दै नेपालमा यस्ता खाले प्रविधि निक्कै उपयोगी हुने र हरेक स्थानमा यस्ता प्रविधि जडान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । उक्त प्रविधि अनुसार खुट्टाले प्याडललाई दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने हुन्छ । कोरोना भाइरस विभिन्न सतहमा ३ दिन सम्म बाँच्न सक्ने भएकाले धाराको टुटी जस्ता सतह संक्रमित भएमा भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न स्पर्श रहित हात धुने स्टेशनको स्थापना गरिएको हो ।
कार्यक्रममा उपमेयर मीना लामाले स्थानीय निकायले पनि यस्ता सहयोगी हातहरु सँग मिलेर विकास निर्माणका थुप्रै कामहरु गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । मकवानपुरका सम्पूर्ण लायन्स तथा लियोहरु आफ्नो सामाजिक दुरी कायम गरी उपस्थित भएका उक्त कार्यक्रममा लायन्स जिल्ला परिषद ३२५ बि २ का 1st VDG शम्भु नकर्मीले लायन्स क्लबको उद्देश्य, सामाजिक र बिपदको बेला लायन्स क्लबको भुमिकाको बरेमा प्रस्ट्याउनु भएको थियो ।

अबको केही दिनमा फेरि थप ४ वटा स्थानमा त्यस्तै धाराको निर्माण गरी स्थापना गर्ने कुरा कार्यक्रमका सञ्चालक, लायन्स क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष तथा अभियानका सौजन्य लयन सरोज पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायत उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता, जनप्रतिनिधी, टोल बिकास संस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थित रहेको थियो ।


1065 पटक हेरिएको 

