चर्पीले पाहुना लोभ्याएको बौघागुम्हाको कथा

🔗
8
Shares

कोष विकास समितिको आर्थिक सहयोगमा बर्षातको पानी संकलनका लागि निर्मित फेरो सिमेन्ट ट्याङ्की र नजिकै चर्पी

आजभोलि घरमा चर्पी नभए छोरी ज्वाइँ त नआउने रैछन्, पाहुनाको त के कुरा ?

रोशन कुमार जोशी : गाउँमा आएका पाहुनाहरूलाई फूल र शर्बतले स्वागत गरेपछि कोही भान्सातिर लाग्छन् त कोही अरू काममा । घरमुली सुकबहादुर थापा भने आगन्तुकहरूसँग कुराकानी गर्न थाल्नुहुन्छ । होमस्टे सञ्चालन भएका गाउँका २२ घरमध्ये पाहुनाहरू क–कसको घरमा जाने भन्ने तय पहिले नै भइसकेको हुन्छ । तर गाउँको शिरानमै पर्ने घर र गाउँकै मुखिया भएकाले पाहुनाको स्वागत भने सुकबहादुरको आँगनमा नै हुने गर्छ ।

सुकबहादुर थापा

पाल्पा जिल्लाको साबिकको बौघागुम्हा गाविस र हाल तानसेन नगरपालिका वडा नं. १३ अन्तर्गतको बौघागुम्हाको मगर गाउँ आजभोलि “होम स्टे” गाउँका रूपमा चिनिएको छ । यो गाउँमा पुग्न बित्तिकै आगन्तुकहरू यहाँको सरसफाइ र सुव्यवस्था देखेर दङ्ग पर्छन् । प्रत्येक घरका करेसाबारीमा लहलह फलेका तरकारी, कतिपयले त टनेल बनाएर व्यावसायिक रूपमा तरकारी खेती गरेका, प्रत्येक घरका आँगनमा फूलेका फूल, सफा आँगन र बाटाघाटा अनि गाउँलेहरूको फरासिलो व्यवहारले यो ठाउँ पुग्ने जोकोहीको पनि मन लोभिन्छ ।

“यसैले गर्दा नै आज तपाईँ हाम्रो भेट भएको हो है” आँगन छेउमा बनेको चर्पीतिर देखाउँदै सुकबहादुर भन्नुहुन्छ । ८२ वर्षको उमेरमा पनि तन्नेरी जोशमा देखिने उहाँ आफ्नो भनाईलाई स्पष्ट पार्दै भन्नुहुन्छ, “तारा गाउँ विकास समिति (होमस्टे सञ्चालनका लागि तालिम दिने र अनुगमन गर्ने पर्यटन मन्त्रालय अन्तर्गतको निकाय) ले होमस्टे सञ्चालन गर्न घर घरमा चर्पी हुनै पर्ने नियम राखेको थियो । आजभोलि घरमा चर्पी नभए छोरी ज्वाइँ त नआउने रैछन्, पाहुनाको त के कुरा ?”

पाहुनाका लागि आफ्नै बारीको तरकारी टिप्दै स्थानीय महिला ।

खानेपानीको चरम अभाव भएको यस समुदायमा २०६६ सालमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा ८४ घर र एउटा विद्यालयमा वर्षातको पानी संकलनका लागि ६ हजार लीटर क्षमताका घैंटाहरू निर्माण भएका थिए । घरमा चर्पी बनाएर प्रयोग गर्नेले मात्र घैंटाको सुविधा पाउने नियम बनाइएकाले त्यतिखेर नै गाउँमा सबैका घरमा चर्पी बनेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलबहादुर थापा बताउनु हुन्छ । “अरू गाउँका कारणले गर्दा हाम्रो गाविस २०७१ मंसिरमा मात्र खुला दिसामुक्त घोषणा भएको हो, तर हाम्रो गाउँ त ६६ सालमा नै खुला दिसामुक्त भइसकेको थियो” उहाँले भन्नुभयो ।

गाईवस्तुलाई खुवाउन र सिंचाई गर्न बनाइएको पानी पोखरी ।

आजभोलि देशका विभिन्न स्थानबाट पाहुनाहरू बौघागुम्हा पुग्छन् । यहाँका वासिन्दाले होमस्टे सञ्चालनका लागि आवश्यक तालिम पाएका छन् । सरसफाइ उनीहरूको जीवनशैली बनिसकेको छ । होमस्टेबाट भएको आम्दानीले उनीहरूलाई हौस्याएको छ । हाल बौघागुम्हा नजिकैबाट ऐतिहासिक रानीमहल जाने सडक बन्दैछ । अब बौघागुम्हावासीहरू पर्यटकहरूलाई रानीमहल लगायत वरपरका प्रसिद्ध ठाउँहरूको अवलोकन गराएर गुणस्तरीय ढङ्गको प्याकेज कार्यक्रम नै बनाउन लागि परेका छन् ।

समुदाय खुला दिसामुक्त भएपछि मानिस रोगव्याधिबाट मुक्त हुने मात्र नभई आर्थिक उपार्जनका संभावनाहरू पनि बढ्दा रहेछन् भन्ने कुराको राम्रो उदाहरण बनेको छ बौघागुम्हा । अब समुदायहरूमा खुला दिसामुक्त अभियानका कारणले समग्र अर्थतन्त्रमा पुगेको योगदानको लेखाजोखा गर्ने बेला भएको छ ।

लेखक, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा वातावरण तथा सामाजिक व्यवस्थापन विज्ञ हुनुहुन्छ । यसलाई हामीले कोष विकास समितिद्वारा प्रकाशित चौमासिक बुलेटिन पानी, सरसफाइ र जीवनबाट साभार गरेका हौं । 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार