गोरखा : लकडाउनकै बीचमा गोरखामा ३८ वटा खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि अनुमति लिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखासँग खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ती खानेपानी आयोजना सञ्चालन गर्न अनुमति लिएको हो । गोरखामा खानेपानी सहित एक सय ६ वटा विकास आयोयोजना सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत २० गतेको बैठकको निर्णय अनुसार जिल्लामा विकास निर्माणका योजनाहरू सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । लकडाउनका कारण अवरुद्ध भएका विकास निर्माण कार्यलाई निरन्तरता दिने निर्णय भएको हो । स्थानीय तहको निगरानीमा निश्चित शर्त र सीमा भित्र रहेर काम सुरु गर्ने अनुमति दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बारपाक सुलिकोट गाउँपालिकाको चनौट पाल्खु सडक योजना, पूर्वाधार विकास कार्यालय अन्तर्गतका २१ योजना, संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय र पालुङटार कुन्दुरटार सिँचाइ आयोजनाको एकरएक वटा योजना पनि सञ्चालन हुने भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ३८ र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गोरखाले १७ योजना सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएको छ ।
यस्तै स्थानीय पूर्वाधार विभाग, रिचेत जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सस्पेन्सन ब्रिज डिभिजन, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल योजना र कालिका पावर कम्पनीले पनि एक एकवटा योजना सञ्चालनका लागि अनुमति लिएका जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत हर्क रोकाले बताउनुभयो । ११ किलो छेपेटार, भालुस्वाँरा–बारपाक सडक योजना कार्यालय अन्तर्गतका ११ वटा सडक निर्माण तथा मर्मतका योजना सुचारु गर्न अनुमति दिएको उहाँको भनाइ छ ।
आयोजना सञ्चालन गर्न चाहने आयोजना वा कम्पनीले श्रमिक तथा अन्य जनशक्तिलाई आवास र खानाको व्यवस्था गरेर बाहिरका कसैसँग पनि सम्पर्क गर्न नदिइकन कार्यस्थलमै राख्नुपर्ने ब्यवस्था गरिएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिनुभयो। त्यस्तै कामदार बीच व्यक्तिगत दूरी कायम गर्नुपर्ने, दिनहुँ स्वास्थ्य परीक्षण गर्नुपर्ने, मास्क, सेनिटाइजरको ब्यवस्था हुनुपर्ने पनि शर्त राखिएको छ । विकास निर्माणका योजना सञ्चालन गर्दा यी शर्त पालना गरे नगरेको बारे स्थानीय तहले अनुगमन गर्ने ब्यवस्था मिलाइएको प्रशासकीय अधिकृत रोकाले बताउनुभयो।


1776 पटक हेरिएको 

