काठमाडौ : काठमाडौंको चन्द्रागिरि नगरपालिकाले ग्राहकका लागि हात धुने स्थानको व्यवस्था नगर्ने, लकडाउनको समयमा मदिरा पसल सञ्चालन गर्ने र लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई धमाधम कार्वाही गर्न थालेको छ । त्यस्ता व्यापारी र लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको प्रवक्ता महर्जनले बताउनुभयो ।
उहाँका हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेका र उनीहरुबाट एक लाखभन्दा बढी रकम जरिवाना उठिसकेको छ । रसिद काटेर नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गर्ने गरेको महर्जनले बताउनुभयो ।
यही वैशाख २ गते सुरक्षा निकाय सहित बसेको चन्द्रागिरी नगरपालिकाको बैठकले पसलमा आउने सेवाग्राहीहरुको लागि हरेक पसलले साबुन पानीले हात धुने व्यवस्था वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, त्यस्ता व्यवस्था नगरेका पसलहरु खोल्न नपाईने, विक्रेताले मास्क, पञ्जा लगाउनुपर्ने, तोकिएको समयावधिभित्र नगरपालिकाले तोकेको न्यूनतम परिमाणको खाद्यान्न, तरकारी, फलफूल तथा मासु विक्री गर्नुपर्ने, अति आवश्यक उपभोग्य वस्तु विक्री गर्ने पसलहरुमा सामाजिक दुरी कायमका लागि स्थायी चिन्त अंकित गर्न पसलहरुले अनिवार्य पेन्ट गर्नुपर्ने लगायत निर्णय गरेको थियो ।
नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । त्यसदेखि बाहेकको समयमा सडकमा निस्किनेलाई कार्वाही गर्न थालिएके हो । जरिवानाको नियम लागू गरेको सुरुवाती दिनमा एकैदिन ४८ जनासम्म कारबाहीमा परेको प्रवक्ता महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी नै खटाएको छ ।


972 पटक हेरिएको 

