
काठमाडौ : सरकारले कोरोना भाइरसबाट जोगिन व्यक्ति–व्यक्तिबीच शारीरिक दूरी कायम राख्ने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र साबुनपानीले मिचिमिची पटक पटक हात धुनका लागि आम सर्वसाधारणलाई आह्वान गर्दै आएको छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले पनि कोरोना भाइरसबाट जोगिन साबुनपानीले पटकपटक हात धुनुपर्ने औँल्याएको छ । अर्थात् वेलावेला साबुनपानीले मिचिमिची हात धुनाले कोराना संक्रमणबाट जोगिन भूमिका खेल्ने भनिएको छ ।
तर, काठमाडौंमा पानी वितरण गर्दै आइरहेको काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयुकेएल) ले भने कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेकै वेला पानीको आपूर्ति घटाइदिएको छ । केयुकेएलले प्रत्येक ६ दिनमा उपलब्ध गराउँदै आएको पानी वितरणको तालिका प्रत्येक १०–१० दिनमा पुऱ्याएको छ ।
यो सँगै काठमाडौं उपत्यकामा यसअघि प्रत्येक ६ दिनमा उपलब्ध हुने पानी प्रत्येक १०–१० दिनमा मात्र उपलब्ध हुने भएको छ । केयुकेएलले सुक्खायाममा पानीको उपलब्धता न्यून रहेका कारण प्रत्येक १० दिनमा पानी वितरण गर्न थालिएको जानकारी दिएको छ ।
भ्रष्ट व्यवस्थापनले उपभोक्ता मारमा
काठमाडौं उपत्यकामा पानीको हाहाकार भएर उपभोक्ता मारमा परेको समस्या पुरानै भए पनि यसपटक भने महत्वपूर्ण समयमै पानी उपलब्ध गराउन छोडेको छ ।पटक पटक हात धुनुपर्ने समयमा पानी नभएर उपभोक्ता मारमा परेका वेला केयुकेएलले पानीको वितरण महिनामा तीन पटक मात्रै गर्ने गरेको हो ।
यसले प्रत्यक्ष रूपमा काठमाडौं उपत्यकाका उपभोक्ता मारमा परेका छन् । पानी आउने भनिएको दिन पनि राम्रोसँग पानी नआउने गरेको उपभोक्ताहरूको भनाइ छ ।केयुकेएल भ्रष्ट व्यवस्थापनको चंगुलमा फसेका कारण उपभोक्ताले दुःख पाउने गरेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन् ।
‘अक्षम र भ्रष्ट व्यवस्थापनको चंगुलमा फसेको केयुकेएलले काठमाडौं उपत्यकामा खानेपानी दिन नसक्ने ठूलो कुरा होइन,’ महर्जनले भने, ‘केयुकेएल १० दिनमा एकपटक एक घन्टा पानी दिएर नागरिकलाई ठूलो गुन लाएजस्तो सम्झन्छ । भित्र पानीमा भ्रष्टाचारको स्थिति छ । नेतृत्व भ्रष्ट र अक्षम हुँदाको परिणाम यस्तै हुन्छ ।’
पानीको अभाव भएको र प्रत्येक एक हप्तामा उपलब्ध गराउँदै आएकोमा केयुकेएलले उक्त समयलाई लम्ब्याएर १० दिनमा मात्र पानी वितरण गर्न थालेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरीसमेत परेको छ ।
माग ४३ करोड लिटर, वितरण ९५ लाख लिटर मात्रै
केयुकेएलका सूचना अधिकारी दीपेन्द्र ओलीका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । तर, केयुकेएलले दैनिक ९५ लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ । अहिले केयुकेएलमा नै पानीको उपलब्धता घटेका कारण प्रत्येक १० दिनमा एकपटक पानी वितरण गर्न थालिएको सूचना अधिकारी ओलीले बताए ।
उनका अनुसार सुक्खायाममा केयुकेएलमा पानीको उपलब्धता ९५ लाख लिटरको हाराहारीमा हुने गरेको छ । प्रशस्त पानी उपलब्ध भएको समय ९बर्खा०मा एक करोड ५७ लाख लिटरसम्म पानी वितरण हुने गरेको छ ।
‘सुक्खायाममा ९५ एमएलडीसम्म पानी वितरण हुने गरेको छ,’ उनले भने, ‘बढी पानी उपलब्ध भएको समयमा एक सय ५७ एमएलडीसम्म पनि वितरण हुन्छ । त्यो भनेको ९५ लाख लिटरदेखि १ करोढ ५७ लाख लिटरसम्म पानी वितरण हुने गरेको छ ।’ केयुकेएलले टोलैपिच्छे फरकफरक दिन गरेर पानी उपलब्ध गराउँदै आएको उनले बताए ।
कृषि बालीका लागि आवश्यक पर्ने वेलामा पानीका मूलमा पानी छोड्नुपर्ने सम्झौता यसअघिदेखि नै भएका कारण पनि अहिले केयुकेएलले जम्मा गर्ने पानीको मात्रा घटेको ओलीको दाबी छ ।
केयुकेएल अन्तर्गत काठमाडौं उपत्यकामा २२ लाख २१ हजार धारा जडान छन् । ती धारामा फरक फरक दिन पानी वितरण गरिँदै आएको छ । उपलब्ध हुने पानीमा चुहावट समेत २० देखि ४० प्रतिशतसम्म रहेको केयुकेएलको दाबी छ । धाराहरूबाट हुने ओभर फ्लो, धारा खोल्ने क्रममा र पुराना पाइपहरू भएका कारण लिकेज हुने गरेको केयुकेएलको भनाइ छ । त्यसले गर्दा पनि केही पानी खेर गइरहेको दाबी गरिएको छ । यो खबर नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।


1409 पटक हेरिएको 

