काठमाडौ : नेपाल सहित विकासोन्मुख एवं गरिब मुलुकका लागि सहयोग गर्दै आएको जेनेभा मुख्यालय रहेको खानेपानी तथा सरसफाइ संयुक्त परिषद (डब्लुएसएससीसी) सञ्चालक समिति बैठकले परिषदको २०२१ –२०२५ नयाँ रणनीतिलाई अनुमोदन गर्दै परिषदलाई सरसफाइ र स्वच्छता कोष (स्यानिटेसन एण्ड हाइजिन फन्ड) का रुपमा रुपान्तरण गरेको छ ।

राष्ट्रसंघीय दिगो विकास लक्ष्यमा सघाउ पुग्ने गरी सरसफाइका क्षेत्रमा दातृ सहयोग जुटाउन र समन्वयकारी भूमिका निभाउन कोषको रुपमा थप भूमिका निर्वाह गर्ने भएको छ । कोषको जेनेभास्थित मुख्यालयबाट जारी बिज्ञप्तीअनुसार, उपयुक्त सरसफाइ र स्वच्छताको अभावमा महिलामा महिनावारी स्वास्थ्यको जटिलता उब्जने गरेको र सरसफाइ अभावमैं झाडापखाला, हैंजा, इबोला, कोविड–१९ जस्ता प्रकोपहरु उत्पन्न हुने गरेको जनाइएको छ । यसैगरी, मातृ तथा नवजात शिशुको मृत्यु, यौनिक र प्रजनन स्वास्थ्य समस्या लगायतजैविक प्रतिरोध क्षमतामा हस, सेप्सिस् र कुपोषण जस्ता परिणामहरु पनि यही कारणले देखिने गरेका हुन् ।
बिशेषत महिला र बालिकाहरुमा कमजोर सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यकै कारण आफ्नो सुरक्षा र आत्मसम्मानमा नकारात्मक प्रभाव परिरहेको हुन्छ, यहीकारण लैङ्गिक हिंसा, छनौटको बिकल्प, गतिशीलता, रोजगारीमा पहुँच तथा सामाजिक र आर्थिक शक्ति बन्ने क्षमतामा कमी आइरहेको हुन्छ । अहिलेको प्रगति सूचांक हेर्दा, सरसफाइ र स्वच्छता बारेको सहस्राव्दी विकास लक्ष्य २२ औं शताब्दीमा मात्रै पुरा हुन सक्ने देखिन्छ ।
यसकारण, सरसफाइ र स्वच्छता कोष विश्वभरका नेतृत्वबर्ग तथा राष्ट्रिय सरकारहरुलाई सरसफाइ तथा स्वच्छताका क्षेत्रमा वृहत रुपमा लगानी बढाउन आग्रह गर्दछ । बिद्यालयमा रहने सरसफाइ तथा स्वच्छता, स्वास्थ्य केन्द्र र घरेलु तहमैं स्वास्थ्य र सरसफाइका नयाँ अन्वेषण तथा सहयोगी अभियानलाई साथ–समर्थन दिन कोषको अनुरोध छ ।
यसअघि खानेपानी तथा सरसफाइ संयुक्त आयोगले सरसफाइका क्षेत्रमा विश्व समुदायका लाखौं जनतालाई जीवन रक्षामा सहयोग पुग्ने गरी भरथेग गर्दै आएको थियो । परिषदले विशेष गरी सरकारको खुला दिसामुक्त क्षेत्र अभियान अगाडि बढाउन परिषद्ले सन् २०१० यता नेपालमा सहयोग गर्दै आएको थियो । सर्लाही, सुनसरी, सिराहा, सप्तरी, रौतहट, महोत्तरी, धनुषा, बारा, झापा, मोरङसहित तराईका प्रमुख र सिन्धुपाल्चोक, दोलखा, रसुवा, बाजुरा, अर्घाखाँचीसहितका १८ जिल्लामा यूएन ह्याबिटाट परियोजना अन्तर्गत कोषको सहयोग निरन्तर रहने जनाइएको छ ।
परिषद स्थापनाको ३० बर्षयताको उपलब्धी र यो क्षेत्रमा सहयोग गर्दै आएका दाता तथा सहयोगी संस्थाहरुका बलमा अबका दिनमा पनि कोषले सरोकार–सम्बद्ध मुलुकहरुलाई आर्थिक सहायता प्रदान गर्दै जाने कोषका सञ्चार प्रमुख हिरोयिकी साइतोले जनाएका छन् । यो सहायताले राष्ट्रिय सरकारका सरसफाइ तथा स्वच्छता बिषयक कार्यक्रमहरुमा रहेको ‘आर्थिक रिक्तता’ लाई परिपूर्ति गर्ने विश्वास साइतोले लिएका छन् । कोष गठनको अवसरमा आयोगका अध्यक्ष हिन्ड खातिव–ओथमेनले भनेकी छिन् ‘आज हामी ग्लोबल रुपमैं रुपान्तरण तथा दिर्घकालिन पहुँचको माध्यमका रुपमा आएका छौं । सरसफाइ तथा स्वच्छता कोषमार्फत हामी संसारभरका नेतृत्व बर्गलाई यो क्षेत्रमा रहेको कमीकमजोरी र रिक्तता पुरा गर्न आग्रह गर्दछौं ।’


2000 पटक हेरिएको 

