
काठमाडौं : बरण्डा, कौसी र छत। जता हेरे पनि हरियाली । जताततै पनि तरकारी फलेका । कुनै करेसाबारीमै पुगेजस्तो हुने । काठमाडौ महानगरपालिकाको वडा नं.१९ चागलका ५४ वर्षीय शेषनारायण महर्जनले घरलाई नै करेसाबारी बनाउनु भएको छ । एक दशक भयो, उहाँले छत र कौसीमा तरकारी खेती गर्न थाल्नुभएको ।
शेषनारायणले विभिन्न संघ संस्था मार्फत तरकारी खेतीबारे तालिम लिनु भएको थियो । त्यही तालिमको सदुपयोग गर्दै उहाँले आफ्नै घरलाई करेसाबारी बनाउनुभएको हो । उहाँको करेसाबारीमा अहिले ५० भन्दा बढी प्रजातिका तरकारी तथा सागपात लगाइएको छ । नेपालमा उत्पादन हुनेदेखि विदेशबाट आयात गरिनेसम्मका तरकारी उहाँको करेसाबारीमा फलेका छन्।
रहरले शुरू गरेको उहाँको करेसाबारी अहिले त उदाहरण नै बनेको छ । त्यसैले त अहिले उहाँ कृषकमा मात्र सिमित हुनुभएको छैन । काठमाडौं महानगरपालिकाको आयोजनामा उहाँले धेरैलाई घरमै तरकारी खेती गर्ने तालिम दिनु भएको छ । त्यसैको परिणाम हो, उहाँको घर आसपासको क्षेत्रमा अधिकांशको छतमा तरकारी खेती भएको देखिन्छ ।
“घरमा वर्षभरिमा पाक्ने तरकारीमध्ये ७० प्रतिशत जति आफ्नै करेसाबारीको हुन्छ, तरकारी कम हुने मौसममा भने बाहिरबाट पनि किनेर ल्याईन्छ” शेषनारायण भन्नुहुन्छ ।
लकडाउनले उहाँको तरकारी खेतीलाई धेरै सघाउ पुर्याएको छ । घरमै बस्न बाध्य भएका परिवारका सदस्य पनि करेसाबारीमा काम गर्छन् । छोराछोरी र श्रीमतीले सहयोग गर्दा झनै खुशी हुनुहुन्छ शेषनारायण ।
“लकडाउनले धेरै फाइदा गरेको छ । म पनि दिनमा अधिकांश समय त यही कौसीमा बिताउँछु । छोराछोरी र श्रीमती पनि भित्र बस्दा बस्दै दिक्क लागेर कौसीमा आउँछन्। र केही न केही काम गरिरहेका हुन्छन्” उहाँ भन्नुहुन्छ । उहाँको दिन नै करेसाबारीबाट शुरू हुन्छ । बिहानै उहाँ करेसाबारीमा गएर स्वच्छ हावा लिनुहुन्छ । एकछिन बारीमा मन डुलाउँनुहुन्छ ।
“आफ्नै छतमा सबथोक तरकारी भएपछि किन बाहिर किन्न जानुपर्यो ? आफुलाई जे तरकारी खान मन लाग्यो माथि छतमा गयो टिपेर ल्यायो । १० वर्षदेखि हामीले धेरै तरकारी आफैंले उत्पादन गरेर खाइरहेका छौं” उहाँ सगर्व सुनाउनुहुन्छ ।
काठमाडौं र अन्य शहरमा घर भएका र बारी नभएकालाई आफूले जस्तै छत र कौसीमा तरकारी फलाउन उहाँको सुझाव छ । कौसी करेसाबारीबाट घरको सरसफाइ र सौन्दर्यमा बृद्धि हुनुका साथै ताजा तरकारी, फूल आदिको आपूर्तिमा सहज हुने उहाँको अनुभव छ ।
त्यस्तै घरमै बस्नेहरुले समयको सदूपयोग, बृद्धबृद्धाहरुले मनोरञ्जनात्मक काम पाउने, बालबालिकाका लागि शैक्षिक सिकाइ हुने, बढ्दो वातावरण प्रदूषण पनि कम गर्न सकिने लगायतका फाइदा रहेको शेषनारायण बताउँनुहुन्छ । अहिले उहाँले आफ्नो कौसीमा रायो साग, खुर्सानी, धनियाँ, बोडे, अम्बा कागती, सुन्तला लगायतका सागपात तथा तरकारी लगाएका लगाउनुभएको छ । त्यस्तै उहाँको कौसीमा विदेशी तरकारीले पनि स्थान पाएको छ ।
कसरी हुन्छ कौसीमा तरकारी खेती ?

गमला, काठको बाकस, माछा राख्ने बाकस, जुट वा प्लाष्टिकका बोरामा अथवा ढलान गरेको छानोमा उचित मात्रामा माटो र मल भरेर कौसीमा तरकारी लगाउन सकिन्छ । सघन कृषि प्रणाली मार्फत कौसीमा तरकारी खेती गर्नुपर्ने महर्जनको सुझाव छ।
कौसीमा सानो ठाउँ हुने भएकाले धेरै किसिमका तरकारी लगाउने गरी व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ । कौसीमा तरकारी लगाउँदा पानीको निकास, माटोको मिश्रण, पानी संकलन लगायतका धेरै कुराको व्यवस्थापन गर्नुपर्ने भएकाले केही दिनको तालिम लिन उहाँको आग्रह छ । देखापढी अनलाइनबाट साभार गरिएको ।


2824 पटक हेरिएको 

