
नुवाकोट : “जहाँ इच्छा त्यहाँ उपाय” नेपाली समाजमा चलेको यो उखान अहिले नुवाकोटको सरसफाइ अभियानमा पनि अति सान्दर्भिक भएको छ । कोरोनाको महामारी फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भएको बेला नुवाकोटमा भने पूर्ण सरसफाइ सम्बन्धी गतिविधि भईरहेका छन् ।
लकडाउनको समयमा समेत घरमै बसेर पनि फरक तरिका अपनाएर अभियान सञ्चालन गर्न सकिन्छ भन्ने कुरालाई चरितार्थ गर्दै भौतिक उपस्थिति विनै नुवाकोटमा सरसफाइका नियमित गतिविधिहरु फरक तरिकाबाट सम्पादन भइरहेका छन् ।
एक पटक त अफिसबाट सामाजिक दुरी कायम गरेर काम गर भन्दा त जागीरै छोडुँ जस्तो पनि लाग्यो तर सोचें, सहजतामा त जसले पनि काम गरिहाल्छ नि समाजको लागि केही गर्ने नै हो भने त अफ्ठ्यारोमा पो गर्नुपर्छ ।
हाल यस जिल्लाका तीन पालिकाहरु क्रमशः विदुर नगरपालिकाका ४ वटा वडाहरु (वडा नं १, २, ४ र ७) किस्पाङ, र लिखु गाउँपािलकाका सबै वडामा सामाजिक दुरी कायम गरेरै सरसफाइका क्रियाकलापहरु भइरहेका छन् ।
विशेष गरी हाल यी गाउँपालिकामा पूर्ण सरसफाइ सहजकर्ताहरुले नियमित रुपमा सरसफाइमा विशेष जोड दिन आवश्यक भएका घरधुरीहरुको पहिचान गरी सो घरहरुमा सामाजिक दुरी कायम गरेरै टेलिफोनबाट सरसफाइ सन्देश प्रदान गर्छन् साथै सो कुरा उनीहरुले व्यवहारमा लागू गरेका छन् कि छैनन् भनी पटक पटक फोनमा सम्पर्क गर्छन् ।
फोनबाटै व्यवहारमा परिवर्तन आए नआएको सुनिश्चित गरी सो को कोबो सप्टवेयरमा अपडेट गर्छन् । यति मात्र नभई स्थानीय सहजकर्ताले गरेको कामको सामाजिक दुरी कायम गरेरै साझेदारी संस्था एवम् दातृ निकायबाट अनुगमन समेत भईरहेको छ । यसरी सामाजिक दुरी कायम गरेरै हाल सम्म १ हजार ६ सय २१ घरहरुमा सरसफाइ सन्देश दिने र सोको प्रयोग भए नभएको अनुगमन भईरहेको छ । यति मात्र नभई फोन गर्दा सरसफाइको अवस्था राम्रो नपाइएको घरहरु समेत टेलिफोन बाटै पहिचान गरी उक्त घरहरुलाई चर्पीको समुचित प्रयोग गर्न, समय समयमा हात धुन र कोभिडलाई लक्षित गरी साबधानी अपनाउन तीन प्रकारका मोवाइल पुस अप मेसेज समेत प्रदान गरिएको छ ।
डिकोन नेपालका कार्यकारी निर्देशक चोकराज शाक्य भन्नुहुन्छ “सुरुमा यो काम अलि असहज हुन्छ कि जस्तो लागेको भए पनि नियमित रुपमा कर्मचारीहरुसित भिडियो कन्फेरेन्स गर्ने, काम गर्नका लागि फ्रन्टलाइन कर्मचारीहरुलाई उत्प्रेरित गर्दै जाँदा काममा सहजता आए पछि काम गर्न झनै उत्साहित भएका छौं ।”
समुदायमा गई प्रत्येक घरधुरीलाई जागरुक पार्नुपर्ने हाम्रो जस्तो मुलुकमा घरबाटै सञ्चारको माध्यमबाट समुदाय शसक्त पार्नु सानो कुरा होइन तर पनि परिवर्तन त्यसै आउँदैन । परिवर्तनका लागि उद्देश्य सहितको ठोस रणनीति आवश्यक हुन्छ । प्रत्येक घरधुरीमा पुगी सशक्तीकरण गर्ने अभ्यास बदलेर बन्द कोठाबाट समाज परिवर्तन गर्न बझाङ देखि नुवाकोट सम्मको यात्रा तय गरेका पुनर्जागरण समाज एवम् डिकोन नेपालका खानेपानी सरसफाइ एवम् स्वच्छता अधिकृत बल बहादुर ओड भन्नुहुन्छ “एकपटक त लकडाउन उल्लंघन गरेरै भए पनि गाउँ पुगेरै काम गरौं कि जस्तो पनि भयो तर हार नखाइकन सामाजिक दुरी कायम गरी नियमित काम गर्दा सफल भएको महसुस भएको छ, त्यसैले अब त बानी पनि परिसक्यो । वास्तवमै सामाजिक दुरी कायम गरेर काम गर्दाको मज्जा बेग्लै हँुदोरहेछ ।”
कोभिडको त्रास, अस्तव्यस्त जनजीवन, सरसफाइ जस्तो कसैको प्राथमिकतामा पर्न नसकेको क्षेत्र, भूकम्पले गर्दा अत्यधिक अनुदानमुखी सोच विकास भएको नुवाकोट जिल्लामा लकडाउनको समयमा समेत पूर्ण सरसफाइ गतिविधिलाई निरन्तरता दिनु कम चुनौतीपूर्ण थिएन । पूर्ण सरसफाइ सहजकर्ता अम्बिका रिमाल भन्नुहुन्छ “सुरुमा त साह्रै गाह्रो भयो । एक पटक त अफिसबाट सामाजिक दुरी कायम गरेर काम गर भन्दा त जागीरै छोडुँ जस्तो पनि लाग्यो तर सोचें, सहजतामा त जसले पनि काम गरिहाल्छ नि समाजको लागि केही गर्ने नै हो भने त अफ्ठ्यारोमा पो गर्नुपर्छ । यसपछि हरेक असहजतामा आफै उत्प्रेरित भई काम गर्दा सफल पनि भईरहेको छु ।”
हालसम्म समुदायकलाई हात धुने, पानी शुद्धीकरण गरेर खाने लगायतका कुरालाई प्राथमिकतामा राखेको र अब चर्पीको स्तरोन्नती गर्न समुदायलाई उत्प्रेरित गर्ने योजना बनाएको रिमालले बताउनुभयो । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै सरसफाइमा फड्को मार्ने दृढ इच्छा भएकै कारण लकडाउनमा समेत सामाजिक दुरी कायम गरी सरसफाइका काम नियमित भईरहेका छन् नुवाकोटमा ।
नुवाकोटमा विदुर नगरपालिकाका ४ वटा वडाहरु (१, २, ४ र ७) किस्पाङ गाउँपालिका र लिखु गाउँपािलकाका सबै वडामा ग्लोबल स्यानिटेसन फण्ड प्रोग्राम यु.एन्.ह्याविट्याटको सहयोग तथा पुनर्जागरण समाज नेपाल र डिकोन नेपालको साझेदारीमा पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।


1147 पटक हेरिएको 

