
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हातले नछोईकन सञ्चालन गर्न मिल्ने हातधुने स्टेसन जडान गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा सेवाग्राहीको चाप अत्यधिक भइरहने भएकाले नगरपालिकाको मागको आधारमा च्यारिटी वाटरको आर्थिक सहयोगमा सामाजिक परिचालन समाज जागरण केन्द्र (स्याक नेपाल) मार्फत एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालले हातधुने स्टेसन जडान गरिएको हो ।
नेपाल लगायत विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ तथा अन्य सरुवा रोगहरुवाट वच्नका लागि हातले नछोईकन हात धुन मिल्ने प्रविधिको हातधुने स्टेशन जडान गरिएको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटासका क्षमता अभिवृद्धि तथा सामाजिक विकास संयोजक नीलकण्ठ पाण्डेले जानकारी दिनुभयो । हात धुने स्टेसन नगरपालिकाकी उपमेयर मोहन माया ढकाललाई हेल्भेटास नेपाल सुर्खेत कार्यालयका टिम लिडर मदन भट्टले हस्तान्तरण गर्नुभयो ।

यो प्रविधि कर्णाली प्रदेशमा नै पहिलो र नवीनतम भएको छ । कोभिड विरुद्धको लडाइमा हेल्भेटासले यसरी नयाँ प्रविधि हातैले नछोइकन (खुट्टाको माध्यमद्धारा हात धुन सकिने ) सहयोग गरेकोमा उपमेयर ढकालले हेल्भेटास नेपाल परिवारलाई आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । उहाँले भविष्यमा समेत अझ सहयोगको अपेक्षा गर्नुभयो ।
एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटासले कर्णाली प्रदेशको अन्य जिल्लामा समेत यस्तै प्रविधिको हात धुने स्टेशन जडान गर्ने योजना बनाएको छ ।



3372 पटक हेरिएको 

