
प्यूठान : कोरोना संक्रमणका बीच जिल्लामा सुरु भएका विकास निर्माणका योजना पुनः अन्योलमा परेको छ । सरकारले लकडाउनलाई थप कडाइ गर्दै अन्तर जिल्ला आवागमनमा रोक लगाएपछि निर्माणका काम अन्योलमा परेका हुन् । निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपति नारायण नकर्मीले कामदार, निर्माण सामग्री र आर्थिक समस्याले योजना निर्माण अगाडि बढाउन समस्या भएको बताउनुभयो । कोरोना संक्रमणको दर बढ्दै गर्दा सरकारले गरेको अन्तरजिल्ला आवतजावत कडाइका कारण छड, सिमेन्ट, इँटा लगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको उहाँले बताउनुभयो ।
निर्माणकार्य सञ्चालन गर्ने सरकारको निर्णय अनुसार जिल्लामा कतिपय योजनाको निर्माण कार्य थालनी गरिएको छ । कतिपय योजना निर्माण कार्यान्वयनको चरणमा छन् । तर दक्ष कामदार तथा निर्माण सामग्री अभावले योजना सम्पन्न गर्न समस्या रहेको निर्माण व्यवसायी बताउँछन् । अहिलेको अवस्थामा निर्माण कार्यलाई अगाडि बढाउन नसकिने निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताउनुभयो । केही सडक निर्माणका काम सुचारु गर्न सके पनि अन्य निर्माण कार्य सञ्चालनमा समस्या रहेको उहाँको भनाइ छ ।
दक्ष कामदारदेखि निर्माण सामग्री सबै बाहिरवाट ल्याउनु पर्ने र आवागमन नै बन्द भएपछि निर्माण कार्य अगाडि बढाउन नसकिने उहाँले बताउनुभयो । लकडाउनबीचमै सञ्चालन भएको झिमरुक नदी नियन्त्रणको काममा समेत कामदारको अभाव रहेको उहाँले बताउनुभयो। “एकातर्फ आवागमनमा कडाइ अर्कोतर्फ कोरोना संक्रमणको त्रास सबै कुराले निर्माण कार्यमा समस्या भएको छ,” उहाँले भन्नुभयो ।
ढाड–तुषारा जोड्ने पक्की पुल, झिमरुक गाउँपालिकाको प्रशासनिक भवनसँंगै निर्माण कम्पनीको जिम्मामा रहेका कतिपय सडकको काम सञ्चालन गर्न नसकेको उहाँको भनाइ छ । लकडाउनसँगै विकास निर्माणका योजना सञ्चालन भए पनि योजना निर्माणका लागि ठोस योजना नहुँदा निर्माणकार्यमा अवरोध आएको नेपाल पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारतीले बताउनुभयो । “जिल्लामा ठोस योजना छैन । कामदार, निर्माण सामग्रीजस्ता अत्यावश्यक सामग्रीको आपूर्तिलाई मध्यनजर गर्दै विकास निर्माणको ठोस खाका अगाडि ल्याउन आवश्यक छ,” उहाँले भन्नुभयो ।
संघ प्रदेश तथा स्थानीय तह अन्तर्गत दर्जनौ महत्वका योजना छन् । भवन, पक्की पुल, सडक, सिँचाइ, खानेपानी, तटबन्ध लगायतका योजनाको निर्माण प्रभावित बनेको छ । अधिकांश निर्माण सामग्री छिमेकी जिल्ला दाङ, कपिलवस्तु तथा रुपन्देहीबाट आयात गर्ने गरिन्छ । तर कपिलवस्तु र रुपन्देहीमा समेत कोरोना संक्रमण पोजेटिभ पाइएपछि जिल्ला छिर्ने नाकाहरूमा थप सतर्कतासँगै कडाइ गरिएको छ । यसले निर्माणको काम प्रभावित बनेको छ ।


1059 पटक हेरिएको 

