खानेपानी र सिँचाईमा लाग्ने डिमाण्ड शुल्क मिनाहा

🔗
8
Shares


काठमाडौं : सरकारले खानेपानी र सिँचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै डिमाण्ड शुल्क मिनाहा र विद्युत महसुलमा सहुलियत दिने बताउनुभएको हो ।
डिमाण्ड शुल्क मिनाहाको माग गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले लामो समयदेखि यस बिषयमा आवाज उठाउँदै आएका थिए । महासंघले खानेपानी मन्त्रालय, अर्थमन्त्रालय लगायत अन्य सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने र डिमाण्ड शुल्क मिनाहाको बिषयमा विभिन्न फोरमहरुमा समेत जोडदार माग राख्दै आएका थिए ।

सरकारले बजेटमै समेटेर खानेपानी प्रयोगको डिमान्ड चार्ज मिनाहा र विद्युत् महसुलमा सहुलियत एवं उपभोक्ता संस्थाहरुलाई आयकरमा समेत छुट दिएकामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले सरकार र अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

‘लामो समयदेखिको हाम्रो माग आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण मार्फत सम्बोधन भएकोमा हामी खुसी छौं,’ फेडवासन अध्यक्ष अर्यालले भन्नुभयो, ‘हामी सबै खानेपानी उपभोक्ता संस्थाहरु नेपाल सरकार र अर्थमन्त्रीलाई हार्दिक धन्यवाद दिन्छौं ।’ उहाँका अनुसार अबका दिनमा यस्ता संस्थालाई काम गर्न निकै सहज हुनेछ ।

महासंघको अगुवाईमा विभिन्न खानेपानी उपभोक्ता संस्थाहरुले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुद्वारा सञ्चालित खानेपानीमा प्रयोग हुने विद्युत् डिमाण्ड चार्ज खारेजी, विद्युत् महसुलमा छुट एवं खानेपानी उपभोक्ता संस्थालाई आयकर छुटको व्यवस्था गर्न अर्थ मन्त्रालय, अर्थमन्त्री, मन्त्रालयको राजस्व परामर्श समिति, खानेपानी मन्त्रालय, विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग लगायतलाई अनुरोध गरेकाले नै यो विषयको सम्बोधन भएको अध्यक्ष अर्यालले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार