
नेपालगञ्ज : कोरोना भाइरसको महामारीका कारण भारतबाट नेपाल फर्किरहेका नेपालीहरुलाई खानेपानी तथा तयारी खाद्यवस्तु वितरण गरिएको छ । नेपाल भारत सीमाको जमुनहा नाकामा जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा नेपाल रेडक्रस सोसाइटी बाँके, युनिसेफ नेपाल र नेपालगञ्ज मेडिकल कलेजको संयुक्त प्रयासमा खानेपानी तथा तयारी खाद्यवस्तु वितरण गर्न थालिएको हो ।
भारतको विभिन्न राज्यबाट नेपाल फर्किरहेका नेपालीहरुले तत्काल खानेकुरा तथा खानेपानी नपाएर समस्यामा परेकोले त्यस्ता व्यक्तिहरुका लागि उल्लेखित निकायहरुले समन्वयात्मक रुपमा सो कार्यको थालनी गरेका हुन । प्रतिव्यक्ति १ बोतल पानी, २ प्याकेट विस्कुट र १ प्याकेट चाउचाउ मेडिकल कलेजले उपलब्ध गराएको छ । उक्त कार्यमा युनिसेफले खानेपानीमा सहयोग गरेको छ भने विवरण कार्यमा नेपाल रेडक्रस सोसाइटी बाँके र नेपालगञ्ज मेडिकल कलेजका स्वयंसेवकहरुले एकै स्थानबाट संयुक्तरुपमा वितरण गरिरहेका छन् ।

यस कार्य अन्र्तगत जेष्ठ १३ गते १ हजार ५ सय ३९ जना र १४ गते २ हजार ४ सय जनालाई उक्त सामाग्री उपलब्ध गराईएको यूनिसेफका क्षेत्रिय प्रमुख दिपक श्रेष्ठले जानकारी दिनुभयो । यो कार्य अझै निरन्तर रहने नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितिश कनौडियाले जानकारी दिनुभयो ।
यस नाकाबाट प्रत्येक दिन १ हजार ५ सय देखि ४ हजार ५ सय ब्यक्ति जनाका दरले नेपाल भित्रिने गरेका छन् । जस मध्ये २९ प्रतिशत प्रदेश ५ का छन् भने ७१ प्रतिशत कर्णाली प्रदेशका नागरिक छन् ।


1507 पटक हेरिएको 

