
विनोद धौलागिरि/विराटनगर : मोरङको जहदा गाउँपालिका, वडा नं. ३ की गीता ठाकुर दुई महिनाको घर बसाइपछि यसै साता समुदायमा पुग्नुभयो । दुई महिनाभन्दा लामो समय घरमै बसी टेलिफोनको माध्यमबाट आफ्नो कार्यक्षेत्रका घरधुरीमा सरसफाइ तथा स्वच्छता प्रबर्द्वनमा सघाइरहनुभएकी गीता सरसफाइ सप्ताहको अवसर पारेर समुदायमा पुग्दा समुदाय समेत औधी खुशी भए । “दुई महिनासम्म त टेलिफोनमा आवाजमात्र सुन्न पाएका थियौं”, जहदा गाउँपालिका, वडा नं. ३ मिलन चोकका बुधन टुडूले भन्नुभयो, “कोरोनाबाहेक अरु केही कुरा हुन छोडेको थियो गाउँमा, बल्ल घर सफा राख्ने कुरा हुन थाल्यो ।”
थालनीका दिनमा ‘कोरोना’बाट बच्न सकेमा जीवन नै बाँच्छ भन्ने लागेको समुदायलाई अहिले जीवन बचाउनका लागि पूर्ण सरसफाइ प्रबर्द्वन नै एकमात्र उपाय हो भन्ने लागेको छ ।
झापा विर्तामोडको आफन्त टोल विकास संस्थाका अध्यक्ष तिलोचन आचार्यले आफ्नो घरदैलोमा सधैंभरि आइरहने सहजकर्ता दुई महिनाभन्दा बढी समय नआउँदा न्याश्रो लागेको भए पनि सरसफाइ सप्ताहको अवसर पारेर आउँदा भने सरसफाइ प्रबर्द्वनअभियानका पुराना दिनको सम्झना आएको बताउनुभयो । “दुई महिना सुस्ताएको पूर्ण सरसफाइका लागि आमपरिचालनले अबका दिनमा पहिलेभन्दा राम्रो गति लिन्छ अब”, आचार्यले भन्नुभयो, “सरसफाइको महत्वको बारेमा अब समुदायले राम्ररी बुझेको छ, प्रज्वलन गरिरहनु नै पर्दैनजस्तो लाग्छ । अब समुदायलाई प्राविधिक र प्रक्रियागत कुराहरु सिकाएमात्र पुग्छ ।”
झापाको गौरीगञ्ज गाउँपालिका, वडा नं. ४ का दीलिप ताजपुरिया वातावरण दिवसको अवसरमा समुदायमा पुग्दा ‘विदेश गएको छोरो’ घरमा आएजस्तो लागेको बताउनुहुन्छ भवानीपुर सुकुम्बासी टोल पूर्ण सरसफाइ समितिका संयोजक कौशिला मण्डल । “उहाँले बन्दाबन्दीको बेलामा पनि हामीलाई फोन गरेर घरमा सरसफाइ राख्न, साबुन पानीले हात धुन र चर्पीमा मात्र दिसा पिसाव गर्न सम्झाइरहनुहुन्थ्यो”, कौशिलाले भन्नुभयो, “सरसफाइ सप्ताहको अवसरमा हामीले टोलमा कार्यक्रम राखेर उहाँलाई बोलाउँदा आउनुभयो, पहिले जस्तै गरी हामीलाई सरसफाइको बारेमा सिकाउनुभयो ।”
गीता र दीलिपमात्र होइन, समुदायमा पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने सहजकर्ताहरु समेत राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारेर समुदायले आयोजना गरेका ‘जागरण कार्यक्रम’ मा समुदायमा नै पुग्नुभयो । “हामीले बन्दाबन्दीलाई पनि सम्मान गर्दै समुदायलाई रोग सर्नै नदिनका लागि स्वच्छता प्रबर्द्वनमा सघाइरहेका छौं”, झापा विर्तामोड नगरपालिका, वडा नं. ८ का पूर्ण सरसफाइ सहजकर्ता अनिल गौतम भन्नुहुन्छ, “त्यसैले सजकता अपनाउँदै समुदायको उत्साहमा सहभागी भएका हौं ।”
सरसफाइका लागि पुनर्जागरण

कोरोनाको विश्वव्यापी महामारीपछि सबैको मुखमा कोरोना नै झुण्डियो । थालनीका दिनमा ‘कोरोना’बाट बच्न सकेमा जीवन नै बाँच्छ भन्ने लागेको समुदायलाई अहिले जीवन बचाउनका लागि पूर्ण सरसफाइ प्रबर्द्वन नै एकमात्र उपाय हो भन्ने लागेको छ । “समुदायमा फोन गर्दा पनि धेरैजसो कोरोनाको नै कुराकानी हुन्थ्यो, उहाँहरुका जिज्ञासा पनि कोरोनाकै बारेमा हुन्थे”, मोरङ बेलबारीकी पूर्ण सरसफाइ पालिका संयोजक रीता कोइराला भन्नुहुन्छ, “अब समुदायले कोरोनामात्र होइन, यस्तै अन्य रोगहरुबाट समेत बच्ने उपायको खोजीमा लागेको छ ।”
धर्ती रोगी भए जैविक विविधता रहँदैन, नारी रोगी भए मानव सृजना रहँदैन”, महिनावारी स्वच्छता प्रबर्द्वनमा वडाअध्यक्ष खड्काको जोड थियो
यस बीचमा बिर्सिएका पूर्ण सरसफाइका विषय र सवालमाथि यस हप्ता खुलेर छलफल भए, यी सवालमा बोलिए, र समुदायको आवाज सुनिए । राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारेर समुदायमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने अभियान, महिनावारी जागरण अभियान, वृक्षारोपण अभियान, वृहत् सरसफाइ लगायतका क्रियाकलाप भए । “समुदायको चासो रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्नेमा बढी देखियो”, सुनसरीको रामधुनी नगरपालिकाका पूर्ण सरसफाइ पालिका संयोजक लोकमाया अधिकारीको भनाइ छ, “कोरोना संक्रमण थालनीको समयमा समुदायमा राहत वितरणको होडबाजी चले पनि अहिले भने सरसफाइ तथा स्वच्छताको होडवाजी चलेको छ ।”
राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारेर सातै दिन जागरण क्रियाकलाप सञ्चालन भए । कुनै दिन किशोरी केन्द्रित क्रियाकलाप त कुनै दिन विद्यार्थी केन्द्रित । कुनै दिन बालबालिकालाई साबुन पानीले हात धुन सिकाइयो त कुनै दिन किशोरीहरुले महिनावारीका पीडा पोखे । प्रदेश नं. १ का झापा, मोरङ र सुनसरीमा वडा र टोल तहमा एकै पटक जागरणका क्रियाकलाप हुँदा पूर्ण सरसफाइ स्वयंसेवक र सहजकर्ताहरुले समुदायको होस्टेमा हैंसे थपे । “समुदाय सरसफाइ प्रबर्द्वनमा जागरुक भएर टोल तहमा कार्यक्रम आयोजना गरेपछि हामी सहजीकरण गर्न त पुग्नैपर्यो”, बेलबारी नगरपालिका, वडा नं. ८ का पूर्ण सरसफाइ सहजकर्ता देवीराम सरदारले भन्नुभयो, “वडा अध्यक्ष फोहर राख्ने डस्टबिन लिएर समुदायमा पुगेपछि हामी पनि समुदायमा पुग्यौं ।”
बेलबारी–८ का वडा अध्यक्ष धनपति गौतमले समुदायमा फोहर राख्ने डस्टबिन लिएर पुग्नुभयो भने वडा नं. १० का वडाअध्यक्ष गंगा याख्याले वृक्षारोपण गर्नुभयो । वडा नं. ९ का वडाअध्यक्ष नगेन्द्र खड्काले पृथ्वी जोगाउनका लागि वृक्षारोपण र नारीको स्वास्थ्य जोगाउनका लागि किशोरीहरुलाई स्यानिटरी प्याडको व्यवस्था गर्नुभयो । “पृथ्वी र नारी दुबै सर्जक हुन् । धर्ती रोगी भए जैविक विविधता रहँदैन, नारी रोगी भए मानव सृजना रहँदैन”, महिनावारी स्वच्छता प्रबर्द्वनमा वडाअध्यक्ष खड्काको जोड थियो, “खेतमा रोप्ने धान, मकैलाई गोडमेल गर्ने र स्याहारसुसार गर्ने मानव जाति आफ्नै परिवारकी नारीको स्याहारसुसार कसरी हुन सक्छ भन्ने कहिल्यै ख्याल गर्दैन ।”
सुनसरीको रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी र उपप्रमुख सविना कुमारी चौधरीले वृक्षारोपण गरी सरसफाइ सप्ताहको बिट मार्नुभयो ।
सरसफाइ सप्ताहको अवसरमा समुदायको सक्रियता र गतिशीलता हेर्दा सरसफाइ प्रबर्द्वनमा अर्को एक चरण थालनी भएको बताउनुहुन्छ मोरङको जहदा गाउँपालिकाका पूर्ण सरसफाइ पालिका संयोजक निश्चल घिमिरे । “सधैंभरि किशोरी र महिलाहरुले छलफल गर्ने महिनावारीको विषयमा यस पटक पुरुषहरुले समेत सक्रिय रुपमा छलफल गर्नुभयो र महिलालाई महिनावारी स्वच्छता व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो”, उहाँले भन्नुभयो, “यसअघि सरसफाइको कुरा गर्दा वडा र पालिकाले के दिन्छ भन्ने प्रश्न गर्ने समुदायले अहिले सरसफाइ आफ्नै लागि भएको बताउन कन्जुस्याइँ गर्नुभएन ।”
कोरोनाबाट समुदायलाई जोगाउनका लागि लागू गरिएको बन्दाबन्दीका कारण ठूलो समुदाय जुटाउन नमिले पनि यस पटकको सरसफाइ सप्ताहले पूर्ण सरसफाइ प्रबर्द्वनका लागि प्रतिवद्ध सामुदायिक स्वयंसेवकहरु तयार गरेको बताउनुहुन्छ मोरङको रतुवामाई नगरपालिकाका सरसफाइ सहजकर्ता विमला खतिवडा । “जो जतिजना जागरण अभियानमा सहभागी हुनुभयो, उहाँहरु सबै बुझाइमा स्पष्ट र व्यवहारमा प्रतिवद्ध बन्नुभयो”, खतिवडाले भन्नुभयो, “पूर्ण सरसफाइ सबैको चासो र सरोकारको विषय हो भन्ने कुरामा फेरि एक पटक समुदाय प्रष्ट भयो ।”
रोगबाट बच्नका लागि सफा र स्वच्छ हात, स्वस्थ वातावरणका लागि वृक्षारोपण, रोग सर्न नदिनका लागि भौतिक दूरी र पूर्ण सरसफाइयुक्त आनिवानी : अबका दिन यसैगरी बिताउनुपर्ने छ । विश्व वातावरण दिवस एवम् राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा समुदायले यही सन्देश प्रवाह गरे ।
सुरक्षित चर्पीले पाए पुरस्कार
सरसफाइ सप्ताहको अवसर पारेर प्रदेश नं. १ मा पूर्ण सरसफाइ अभियान थालनी भएका विभिन्न स्थानीय तहका वडा र टोलमा ‘सुरक्षित’ चर्पीको अनुगमन भयो । उत्कृष्ट चर्पी बनाउने घरमुलीलाई पुरस्कृत समेत गरियो । घरायसी पूर्ण सरसफाइका सूचकहरुको अनुगमन भयो, सबैभन्दा बढी अंक प्राप्त गर्ने घरधुरीलाई सफा र स्वच्छ घरका सूचक कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा छलफल भयो ।

सुनसरीको रामधुनी नगरपालिका, वडा नं. १ को जुराई धामी टोलमा गरिएको चर्पी अनुगमनबाट प्रदीप चौधरीको चर्पीले प्रथम पुरस्कार जित्दा ललित चौधरी र सुनिल चौधरीको घरका चर्पी क्रमशः दोस्रो र तेस्रो भए ।
सुनसरीकै कोशी गाउँपालिका, वडा नं. २ उरावँ टोलमा भएको अनुगमनले भूवनेश्वर यादवको चर्पीलाई सर्वोत्कृष्ट बनायो भने भोलाप्रसाद उराव र जगरनाथ साहले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
“कृषि प्रदर्शनीमा सप्रिएको बाली र पशु प्रदर्शनीमा झक्कले बोका पुरस्कृत भएको देखिएको थियो, चर्पी पुरस्कृत भएको अहिलेसम्म देखिएको थिएन”, कोशी उरावटोलका जगरनाथ साहले भन्नुभयो, “चर्पी बनाएरमात्र नपुग्नेरैछ, धेरै कुरा मिलाउनुपर्ने रहेछ । आजको अनुगमनपछि चर्पी कस्तो बनाउनुपर्छ भन्ने बल्ल राम्ररी थाहा भयो ।”
सहभागिताभन्दा सन्देशमा जोड
यस पटकको विश्व वातावरण दिवस र राष्ट्रिय सरसफाइ सप्ताहका अवसरमा आयोजना गरिएका कार्यक्रममा धेरै सहभागी जुटाउनुभन्दा पनि गुणात्मक सन्देशमा जोड दिइएको बताउनुहुन्छ सुनसरी जिल्ला पूर्ण सरसफाइ अभियान अन्तर्गत सामुदायिक विकास समाजका टोली प्रमुख गंगाप्रसाद यादव । “भिडभाड पनि नहुने र सन्देश समेत प्रवाह हुनेगरी टोल तहका क्रियाकलापमा यस पटक जोड दिइएको थियो”, टोली प्रमुख यादवको भनाइ थियो, “कार्यक्रम आयोजना गर्ने टोल र वडाहरुलाई समेत यसैगरी सहजीकरण गरिएको थियो ।”
नेपालमा कोरोना फैलिने क्रम रोकिएको छैन, जोखिम दिनदिनै बढिरहेको छ । तर, जनजीवनलाई सामान्यीकरणतर्फ लैजाने प्रयासमा सरकार लागिपरेको छ । सरसफाइ तथा स्वच्छता र स्वस्थकर आनिवानी नै संक्रामक रोगबाट जोगिने उपायहरु हुन् । जनजीवन सामान्यीकरणतर्फ लैजाने यस प्रयासलाई सरसफाइ सप्ताहका क्रियाकलापले सघाउने बताउनुहुन्छ नारी विकास संघ मोरङका पूर्ण सरसफाइ अभियान कार्यक्रम अधिकृत शर्मिला चौधरी । “हिजोसम्मको लकडाउनबाट अब सावधानी अपनाउँदै गतिशीलता बढाउनुपर्ने आवश्यकता छ”, चौधरीको विश्वास छ, “सरसफाइ र स्वच्छताका सुरक्षित व्यवहार अपनाउन सकेमामात्र कोरोना र अन्य रोगबाट बच्न सकिन्छ, जसका लागि सरसफाइ सप्ताहका क्रियाकलापले पुलको काम गर्नेछन् ।”

‘जनजीवन सामान्य’ बन्नुको परिभाषा समेत फेरिइसकेको छ । कोरोनाको प्रकोपभन्दा पहिलेकोजस्तो सामान्य जनजीवनमा फर्किन त समय लाग्दा, अबको सन्दर्भमा सरसफाइ तथा स्वच्छतामा ध्यान दिंदै संक्रामक रोगबाट बचेर आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न सक्नु नै जनजीवन ‘सामान्य’ बन्नुको परिभाषा हुन सक्छ । “अब पूर्ण सरसफाइ व्यक्ति, परिवार र संघसंस्थाहरुको संस्कार र सभ्यताको मापकको रुपमा समेत अझै दरोगरी स्थापित भएको छ”, पूर्ण सरसफाइ अभियानमा सघाइरहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/यू.एन. ह्याबिट्याटका सुनसरी जिल्ला संयोजक उमेश कुमार साह भन्नुहुन्छ, “स्थानीय सरकारहरुले यसै वर्षको वार्षिक नीति तथा कार्यक्रममा पूर्ण सरसफाइको मूलप्रवाहीकरण गर्ने उपयुक्त समय समेत रहेको छ ।” त्यसैले त, यस पटक पूर्ण सरसफाइ अभियानको ट्याग लाइन समेत परिवर्तन गरिएको छ, “सरसफाइ…जीवन र संस्कार” ।


2251 पटक हेरिएको 

