
काठमाडौ : खानेपानी तथा सरसफाइ विज्ञहरुले सरकारले महामारीको प्रकोपलाई न्यूनीकरण गर्न कोभिड व्यवस्थापन कोष खडा गरी आपतकालीन खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न सेवाहरु दिनुपर्ने कुरामा जोड दिएका छन् । आर्थिक वर्ष ०७७/७८ का लागि खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रको विनियोजित बजेट र कोभिड महामारी व्यवस्थापनका लागि गरेको व्यवस्था सम्बन्धी हालै गरिएको अनलाइन छलफलमा हातधुने र स्वच्छता कायम गर्नु नै एक मात्र उपाय भएको अवस्थामा आपतकालीन खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सेवा सञ्चालन गर्न कोभिड व्यवस्थापन कोष खडा गर्ने बिषयमा यो बजेट चुकेको विज्ञले औंल्याएका हुन् ।
पूर्व अर्थ सचिव ई. सुमन प्रसाद शर्माले खानेपानी क्षेत्रमा यस आर्थिक वर्षको बजेट राम्रो आएको तर आएको बजेट सत प्रतिशत खर्च हुने कुरामा संका व्यक्त गर्नुभयो । सरसफाइ क्षेत्रमा बजेट कम रहेकोले फोहोर पानी प्रशोधन कार्यलाई अगाडि बढाउन निकै गाह्रो देखिएको उहाँको भनाइ छ । उहाँले खानेपानीका लागि छुट्याइएको बजेट मध्ये अधिकाँस मेलम्ची आयोजनाका लागि जाने भएकोले अरु बैकल्पिक लगानी आकर्षित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले बजेट अपुग भयो भन्दा पनि बजेट सत प्रतिशत सदुपयोग भयो कि भएन भन्ने कुरामा बढी ध्यान दिनुपर्ने र आगामी दिनमा खानेपानी व्यवस्थापन परम्परागत ढङ्गले नभई पूर्ण गुणस्तरीय व्यवस्थापकीय प्रणालीबाट सञ्चालन हुनुपर्ने आवश्यकता भयो ।
यस्तै पूर्व सचिव हरेराम कोइरालाले आगामी आर्थिक वर्षमा कोरोनाको कहरबाट बच्नका लागि निर्देशिका बनाई स्थानीय तहलाई सशक्तिकरण गर्न आवश्यक भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकाल ०६२/६३ मै तयार पारिएको आकासेपानी सम्बन्धी निर्देशिका बारे बताउँदै अहिले सम्म लागु गर्न नसकिएको बारेमा जिज्ञासा राख्नुभयो ।
उहाँले सार्वजनिक शौचालयको निर्माण, सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले मात्र नभई केन्द्रिय सरकारले यथासिघ्र चाँडो आवश्यक नीति तथा निर्देशिका बनाउने जिम्मा लिनुपर्ने बताउनुभयो ।
खानेपानीका अर्का विज्ञ डा. दिनेश मानन्धरका अनुसार खानेपानी र सरसफाइका क्षेत्रमा सुधार ल्याउनका लागि एकद्वार प्रणालीलाई अगाडि बढाउनु पर्ने हुन्छ । सरकारले गैर सरकारी सघसंस्था र निजी क्षेत्रसँग हातेमालो गरी अगाडि बढनुपर्ने कुरालाई जोड दिनुभयो ।
यस्तै आई.टि.पि. सुवासका सल्लाहकार रविनलाल श्रेष्ठले विगतका वर्षहरुको बजेटमा शिक्षा मन्त्रालय मार्फत खानेपानी र सरसफाइमा विद्यालयहरुको लागि एथेष्ठ मात्रामा बजेट विनियोजन हुने गरेकोमा यस आर्थिक वर्षमा शिक्षा मन्त्रालय अन्तर्गत १ अरब ८२ करोड बजेट विनियोजन भए पनि त्यो स्यानेटरी प्याड वितरणका लागि मात्र रहेको बताउनुभयो ।
खानेपानी मन्त्रालयलाई राम्रो बजेट विनियोजन भएको देखिन्छ तर अरु मन्त्रालयमा खानेपानी र सरसफाईको बजेट कटौतीले खानेपानी मन्त्रालयलाई अप्रत्यक्ष रुपमा भार पर्न जाने श्रेष्ठको कथन थियो । उहाँले खानेपानी मन्त्रालयबाट निर्देशिका तयार गर्न सके स्थानीय तहले त्यसैलाई आधार बनाई आफ्नो निर्देशिका तयार पार्न सक्ने र यसले खानेपानीलाई सहज बनाउने बताउनुभयो ।
अनलाइन छलफल सरकारद्वारा हाल कोभिड–१९ को महामारीमा साबुन पानीले हात धुनु अनिवार्य गरेको समयमा स्थानीय तह तथा खानेपानी विभाग र खानेपानी व्यवस्थापन बोर्डले खानेपानी र सरसफाइको क्षेत्रमा तयार पारेको कार्य योजना तथा विनियोजित बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनको विषयमा केन्द्रित थियो ।
सरकारले आगामी आर्थिक बर्षका लागि खानेपानीमा ३४ अरब ५५ करोड, सरसफाइमा ५ अरब १२ करोड र बागमती सुधार आयोजनाका लागि २ अर्ब ३३ करोड रुपैयाँ छुट्याइएको छ ।
अनलाइन छलफलले स्थानीय सरकारलाई खानेपानी र सरसफाइका लागि पर्याप्त बजेट छुट्याउन आवश्यक रहेको जानकारी दिन महत्वपुर्ण भूमिका खेलेको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो ।
प्रतिनिधिसभाले विनियोजन विधेयक पारित गरिसकेको छ । यसबर्ष कोरोना भाइरस रोगका कारण बैठकलाई सङ्क्षिप्त बनाएर केही छिटो नै विधेयक पारित गरिएको हो । विनियोजन विधेयक पारित भए पनि बजेट आश्रित अन्य तीन विधेयक भने विचाराधीन नै छन् । सदनले असार मसान्तसम्म बजेट पारित गर्न पाउने सुविधा रहन्छ । विनियोजन विधेयक पारितपछि सरकारले राज्य कोषबाट हुने आवश्यक खर्च तथा अख्तियार दिन पाउनेछ । नयाँ आर्थिक वर्ष प्रारम्भ भएसँगै बजेट कार्यान्वयन प्रारम्भ हुनेछ ।


1066 पटक हेरिएको 

