सुर्खेत : मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा खानेपानीको हाहाकार भएको छ । डाक्टरको आवास भवन निर्माण गर्ने क्रममा खानेपानीको मुख्य लाइनमा क्षति भएपछि खानेपानी अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार खानेपानीको मुख्य प्रसारण लाइन मर्मत गर्ने क्रममा रहेको छ ।
खानेपानी आपूर्ति बन्द हुँदा अस्पतालका आएका विरामी र आफन्तहरु पिउने पानी समेत किन्न बाध्य छन् । ‘३०/३५ रुपैयाँ तिरेर बोतलको पानी खाइरहेका छौं’ सुर्खेतको बड्डीचौरबाट अस्पताल आएका राजकुमार महतराले भन्नुभयो ।
खानेपानीको लाइन मर्मतमा अस्पताल प्रशासनले ध्यान नदिएको र यसले उपचारमा समेत समस्या ल्याउने विरामीहरु बताउँछन् ।
‘खानेपानी हामीलाई मात्र होइन, अस्पतालमा पनि पानीको समस्या भएकै छ, पानी अभाव भएपछि खोपहरु निर्मलीकरण गर्ने काम, अरु धुनुपर्ने र पुछ्नुपर्ने काममा पनि पानीको अभाव हुँदो हो, कति समस्या होला ?’ महतराले भन्नुभयो ।
डाक्टर क्वाटर भवनको जग खन्दा पाइपलाइन काटिएका कारण खानेपानी सेवा प्रभावित भएको र मर्मत गरी खानेपानी सेवामा सञ्चालनका लागि प्रयास भइरहेको अस्पतालका अधिकृत विनोद वस्नेतले बताउनुभयो ।