
झापा : देशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन नगरेको भए झापाको भृकुटी खानेपानी तथा सरसफाइ आयोजनाका उपभोक्ताले यत्तिबेला दुई महिनाको खानेपानी महसुल तिरिसकेका हुन्थे । लकडाउनकै कारण भृकुटी खानेपानी तथा सरसफाइ आयोजनाको केही काम अझै बाँकी छ । जसका कारण झापाको मेचीनगर नगरपालिकाको वडा नं. २ का करिब ३५० घर परिवारले मुखैमा आएको पानी समेत पिउन पाएका छैनन् । तर अब त्यो दिन चाँडै आउँदैछ । अबको दुई तीन हप्ताभित्र खानेपानीको सम्पूर्ण काम सम्पन्न गरी घरघरमा पानी वितरण गरिसक्ने भृकुटी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष दिपक बरालले बताउनुभयो ।
असार साउनमा पाइपलाइन खन्न प्राविधिक हिसाबले पनि सम्भव देखिदैन । भदौको मध्यतिर सम्पन्न गरी दशैं सँगै खानेपानी वितरण गर्ने हाम्रो लक्ष्य छ ।’ टिम लिडर वलीले भन्नुभयो ।
हरेक घरको धारामा मिटर जडान गर्ने काम बाहेक सम्पूर्ण काम सकिएको र घर घरको धारामा मिटर जडान गर्न साथ उपभोक्ताको घरमा पानी पठाईने उहाँले बताउनुभयो । ‘हामीलाई यो बोझ चाँडै बिसाउन पाऊँ भन्ने छ, सधैंभरि यो कामको बोझ लिएर बस्ने पक्षमा छैनौं । हामी उपभोक्ताको घरमा पानी पठाएर हाम्रो जिम्मेवारी चाँडै पूरा गर्ने पक्षमा छौं’ उहाँले भन्नुभयो ।
भृकुटी खानेपानी तथा सरसफाइ आयोजना, फण्ड बोर्ड मार्फत सहारा नेपालले कार्यान्वयन गर्न जिम्मेवारी पाएको ६ वटा आयोजना मध्येको एक हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले (फण्ड बोर्ड) ले सहारा नेपाललाई सतहमा आधारित तीनवटा खानेपानी आयोजना र तीन वटा भूमिगत खानेपानी आयोजना कार्यान्वयनको जिम्मेवारी दिएको थियो । सतहमा आधारित खानेपानी आयोजनाहरु गाँजाबारी मित्रटार खानेपानी आयोजना, खारखोला खानेपानी आयोजना र पाथीभरा खानेपानी आयोजना एक बर्ष अघि नै सम्पन्न भईसकेका छन् ।
भृकुटी खानेपानी तथा सरसफाइ आयोजना, घोडामारा खानेपानी तथा सरसफाइ आयोजना र नवपञ्चायन खानेपानी तथा सरसफाइ आयोजनाको काम भने सम्पन्न हुन बाँकी छ । काम भईरहेको भएपनि सानातिना समस्याले गर्दा समयमै काम सम्पन्न हुन नसकेको सहारा नेपालका टिम लिडर दिपेश वलीले बताउनुभयो । ‘हामी निरन्तर रुपमा काम गरिरहेका छौं, तर साना तिना समस्याले गर्दा समयमै काम सम्पन्न गर्न सकिरहेका छैनौं ।’ टिम लिडर वलीले भन्नुभयो ।
सहारा नेपालले झापाको बाह्रदशी गाउँपालिकाको वडा नं. ५ मा निर्माणाधीन घोडामारा खानेपानी तथा सरसफाइ आयोजना र नवपञ्चायन खानेपानी तथा सरसफाइ आयोजनाको काम भदौको मध्यतिर सम्पन्न गर्ने लक्ष्य राखेको छ । टिम लिडर वली भन्नुहुन्छ ‘बर्षातको समयमा पाइपलाइन खन्न गाह्रो छ । भूसतहको पानी माथि आउने भएकाले पाइपलाइन खन्न साथ पानी भेटिन्छ । जसका कारण अहिले असार साउनमा पाइपलाइन खन्न प्राविधिक हिसाबले पनि सम्भव देखिदैन । भदौको मध्यतिर सम्पन्न गरी दशैं सँगै खानेपानी वितरण गर्ने हाम्रो लक्ष्य छ ।’ उहाँले भन्नुभयो ।
विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि फण्डबोर्डले बेला बेलामा निर्देशन दिदै आएको छ । सहयोगी संस्था तथा उपभोक्ता समितिका पदाधिकारीहरुले समेत सम्पन्न गर्ने मिति तोक्दै प्रतिबद्धता जनाउदै आएका छन् । तर आफैले गरेको प्रतिबद्धता समेत इमान्दारिताका साथ पालना नगर्दा अझै पनि कतिपय आयोजनाहरु अधुरै रहेका छन् । झापाको सहारा नेपालले गरेको काम जत्ति मात्र अन्य सहयोगी संस्थाले गर्ने हो भने, थपिएको समयमा पनि काम नसक्ने हो कि भनेर सशंकित भईरहनुपर्ने अवस्थाको अन्त्य हुने थियो ।


1065 पटक हेरिएको 

