
बागलुङ : बागलुङ बजार क्षेत्रमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको भन्दै उपभोक्ता आक्रोशित भएका छन् । उपभोक्ता समितिले खानेपानीआपूर्ति नियमित गर्न नसक्नु तथा खाना उपयुक्त नहुने धमिलो पानी वितरण गरेपछि उपभोक्ताले खानेपानी वितरणको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्ने आवाज उठाएका हुन् ।
बागलुङ नगरपालिकाको हालै सम्पन्न ७औँ नगरसभामा बानपा–२ का वडाध्यक्ष जीवन शर्माले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराए लगतै नगरपालिकाले सरोकारवाला निकाय र उपभोक्ताबीच छलफल गरेको थियो । छलफलमा सहभागी अधिवक्ता बद्री शर्माले सम्बन्धित पक्षलाई प्रश्न गर्दै भन्नुभयो, ‘उपभोक्तालाई रातो पानी खुवाउन पाइन्छ ?’ उहाँले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने संस्थालाई कार्वाही गर्नुपर्ने माग राख्दै खानेपानीको जिम्मेवारी नगरपालिकाले लिनुपर्नेमा जोड दिनुभयो ।
नेपालको संविधान–७२ को भाग–३ मौलिक हक र कर्तव्यको धारा ४४ को उपभोक्ताको हक ४४(१) अनुसार प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख छ यस्तै ४४(२) अनुसार गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक उल्लेख गरिएको छ ।
उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक संविधानले सुनिश्चित गरेपनि खाद्यान्न तथा पेय पदार्थ गुणस्तरहिन भएको गुनासो गर्न थालेका हुन् । अधिकांश सहभागीले नगर खानेपानीतथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारी कर्मचारीबाट परिचालित भएको भन्दै आक्रोस पोखेका थिए । समितिले कर्मचारीलाई काम लगाउने हो कर्मचारीले समिति चलाउने होइन अधिवक्ता राम शर्माले भन्नुभयो, ‘कर्मचारी संस्थाप्रति उत्तरदायी भएनन् कार्वाही गर्नुहोस ।’ अधिवक्ता शर्माले संस्थामा चरम आर्थिक अनियमितता रहेको दावी गर्नुभयो। कोषाध्यक्षको राजीनामा स्वीकृत विना कसरी चेक काटिएको छ ?’, उहाँले सम्बन्धित निकायले यसको छानबिन गर्न समेत आग्रह गर्नुभयो ।
संस्थाले खानेपानी आपूर्ति नियमित गर्न नसकेको, खानेपानीलाई किटाणुरहित बनाउन नसकेको, साधारणसभा टारेको, प्राविधिक जनशक्ति नियुक्तिमा चासो नदिएको जस्ता विषय सहभागीले उठाएका थिए । सहभागीले नगरपालिकाले खानेपानी सम्बन्धमा चासो देखाएर राम्रो कामको सुरुवात गरेपछि त्यसको जिम्मेवारी नै लिनुपर्नेमा जोड दिएका थिए ।
कतिपय सहभागीले भने नगर खानेपानी संस्थाले बिधि सम्मत तरिकाले संस्था सञ्चालन गर्न नसकेको, आर्थिक अनियमितता, अपारदर्शिता भएको भन्दै सच्चिनु पर्ने माग गरेका थिए । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष रामप्रसाद शर्माले आफुले अवैध रुपमा कसैलाई पैसा दिन नसक्ने भन्दै राजिनामा दिएको बताउनुभयो । तोकिएको जिम्मेवारी अनुसार काम नभएको क्षेत्रमा समेत भुक्तानी दिन दवाव भएपछि संस्थामा अट्न नसकेको उहाँले बताउनुभयो ।
सहभागीले उठाएका बिषयहरुको जवाफ दिँदै संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले प्राकृतिक विपत्तीसँग बराबर लडन नसक्दा नियमित पानी आपूर्तिमा समस्या भएको स्वीकार गर्नुभयो । उहाँले पहिरोले पानीको पाइप पटक– पटक बगाउँदा खानेपानी आपूर्ति नियमित गराउन नसकेको जानकारी दिनुभयो ।


1137 पटक हेरिएको 

