संगिता गिरी दास : हाम्रो जस्तो विकासोन्मुख देशमा, निम्न आर्थिक अवस्थाका अल्प साक्षर जनता, विशेष गरी ग्रामीण भेगका महिलाहरुकोलागी बचत तथा ऋणमा पहुँच भनेको निकै चुनौतीको विषय हो । एक्काईशौं शताब्दिमा आईपुग्दा सम्म पनि घर व्यवहारको स–सानो खर्च टार्न समेत ग्रामीण भेगका धेरै जसो महिलाहरुले परीवारको पुरुष सदस्यमा निर्भर रहनु परेको र त्यस्तो अवस्थाले गर्दा महिलाहरुले भोग्नुु परेको तीतो अनुभवहरुका प्रशस्त उदाहरणहरु ग्रामीण भेगका महिला दिदी बहिनीहरुसंग छन् ।
वास्तवमा कुनैपनि क्षेत्रका महिलाहरुको विकास एवं दिगो सशक्तिकरणको लागी उनीहरुमा आर्थिक आत्मनिर्भरता हुन जरुरी छ । महिलाहरु आर्थिकरुपमा सशत नहुञ्जेल पारिवारिक एवं सामाजिक विकासको कल्पना गर्न सकिन्न । त्यसैले कुनै पनि विकासको काममा महिलालाई साझेदार बनाउनु अघि सबैभन्दा पहिले उनलाई सामाजिक र आर्थिक रुपमा सबल बनाइनु पर्दछ ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको भूमिका
ग्रामीण भेगका महिलाहरुको यसै वास्तविक र तितो यथार्थलाई ह्ृदयङ्गम गरी ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले आफ्ना खानेपानी तथा सरसफाइ आयोजनाहरु संचालन गर्ने विकास चरणमा नै जीविका कार्यक्रम सञ्चालन गरी यस अन्तर्गत खानेपानीका उपभोक्ताहरु मध्ये महिला सदस्यहरुको एक समुह खडा गर्ने गर्दछ । यस जीविका कार्यक्रमको मुख्य उधेश्य घर आँगनमै खानेपानी उपलब्ध भएपछि बचत भएको समयलाई उपयोग गरी, महिलाहरुमा सीप, क्षमता र नेतृत्व विकास गराउने, समूहमा वचत तथा ऋण कार्यक्रमको परिपाटी बसाल्ने र विभिन्न आय आर्जनको क्रियाकलापमा संलग्न गराएर उनीहको जीवनस्तर सुधार्ने हो । साथै सामाजिक रुपान्तरण र महिला सशक्तिकरणमा विशेष योगदान पु¥याउनु पनि यसको प्र्रमुख उधेश्य हो ।
समूह निर्माण गर्दा कोष विकास समितिले विपन्न तथा वञ्चितीकरणमा परेका अल्पसङ्ख्यक महिलाहरुलाई विशेष महत्व दिने गर्दछ किनकी ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको कार्य गर्ने मुल संरचनामै सामुदायिक साझेदारी, सामुदायिक जिम्मेवारी, सामाजिक समावेशीकरण तथा लैंगीक समानतालाई विशेष प्राथमिकता दिइएको छ । खानेपानी आयोजनाका उपभोक्ताहरु मध्ये महिलाहरुलाई सदस्य बनाइ गठन गरिएको समुहलाई महिला प्राविधिक सहयोग सेवा समूह भनिन्छ । शुरुमा यस समुहलाई कोष विकास समितिको तर्फबाट बीस हजार (रु. २०,०००।–) बिउ पूँजी बापत उपलब्ध गराईएको हुन्छ । सहयोगी संस्थाको सहजीकरणमा महिला प्राविधिक सहयोग सेवाका सदस्यहरुलाई सीप तथा क्षमता अभिवृद्धि गराउने खालका विभिन्न तालिमहरु समय –समयमा प्रदान गराइएको हुन्छ ।
समुहको संस्थागत विकास र कार्य संचालनको लागी महिला सदस्यहरुबाट कार्यकारी समिति गठन गरीएको हुन्छ । सो कार्यकारी समितिले हरेक महिना सदस्यहरुको भेला गराउँदछ । भेलामा भएका महत्वपूर्ण निर्णयहरुको माईन्यूटिङ्ग गर्ने, हरेक महिला सदस्यहरुबाट बचत संकलन गर्ने र संङ्कलित बचत रकमलाई निश्चित प्रकृया बमोजिम सदस्यहरु माझ सुलभदरमा घुम्ती ऋणको रुपमा परीचालन गर्ने तथा कोषाध्यक्षद्धारा सोको विवरण तथा हिसाबकिताब बहिखातामा राख्ने कार्य गरीन्छ ।
यति मात्र होइन महिला सदस्यहरुद्धारा आयोजनाका अन्य विभिन्न कार्यक्रमहरु जस्तै जागरण एवं सरसफाइ र स्वास्थ्यसंग सम्बन्धि सामाजिक कार्यहरुमा पनि समय समयमा विशेष सहभागीता हुने गर्दछ । यी सबै कार्यहरुको अवस्था तथा प्रभावकारिता समुह पिच्छे फरक हुने गर्छ जुन स्वभाविक हो किनकी कतिपय कुराहरु सो समुहको भौगोलिक तथा सामाजिक वातावरण, ज्ञान तथा सूचना प्रवाहकोे स्थिती, समुहका सदस्यहरुको सक्रियता, समन्वयता र कार्यशिलतामा निर्भर हुने गर्दछन् ।
सानोगिम्दि खानेपानी आयोजना
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले संचालन गरेका विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाहरु अन्र्तगत बनेका समूहहरु मध्ये एक फरक र उदाहरणीय ढंगले कार्यशिल समूह हो सानोगिम्दि खानेपानी तथा सरसफाइ आयोजनाको महिला प्राविधिक सहयोग सेवा समुह । कोष विकास समितिको आर्थिक सहयोग र सहयोगी संस्था शान्ती जनआर्दश सेवा केन्द्रको सामाजिक तथा प्राविधिक सहजीकरणमा सञ्चालित यस सानोगिम्दि खानेपानी आयोजना अन्र्तगतको महिला प्राविधिक सहयोग सेवा समुह अन्य खानेपानी आयोजनाको लागी पनि प्रेरणाको स्रोत रहि आएको छ । काभ्रेपलाञ्चोक , तेमाल गाँउपालिका वडा नं ५ का १२६ घरधुरीका ९८० जनताहरुलाई खानेपानी सुविधा पु¥याउँदै आएको यस आयोजनामा कोषको जीविका कार्यक्रम अन्र्तगत “सफल महिला प्राविधिक सहयोग सेवा समुह”लाई रु. बीस हजार (रु.२०,०००।–) दिइएकोमा अहिले उक्त रकम रु.सात लाख सो¥ह हजार ( ७,१६,०००।–) पुगिसकेको छ ।
समूहको यो उपलब्धिको श्रेय समुहका सदस्यहरु बाहेक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रविण लामा ज्यूमापनि जान्छ । समूहलाई उचित अभिभावकत्व प्रदान गर्ने र यसमा आइपर्ने समस्याहरु समाधान गर्न वहाँले पु¥याएको योगदान असाधारण मान्न सकिन्छ ।
सो कुरालाई साबित गर्ने एक उदाहरण यहाँ प्रस्तुत गर्न आवश्यक देखिन्छ । त्यो हो, केहि समय अगाडी समुह भित्र हिसाबकिताबमा रु. १५०००।–को अन्तर पाइयो । सो हिसाबकिताब विभिन्न प्रयास वावजुद मिल्न नसकेपछि वँहाले आफ्नै व्यक्तिगत तर्फबाट रु. १५००० दिएर तत्काल आइपर्न सक्ने किचलो समाधान गर्न लगाई समुहको नियमित गतिबिधिमा कुनै आँच आउन दिनु भएन ।
यसरी आफ्नै पैसा दिएर समस्या समाधान गर्नुको पछाडीको कारणबारे वहाँ सँंग जिज्ञासा राख्दा प्रविण लामा भन्नुहुन्छ “समुदायमा समुहको महत्व, सामाजिक भावना र महिलामा आर्थिक सशक्तिकरणको लागी महत्वपूर्ण भुमिका खेलेको यस जीविका समुहको लागी मबाट गरीएको यो सानो योगदान कुनै ठूलो कुरा होइन , ठूलो कुरा त समस्या समाधान भएर समुह निरन्तर रुपमा विना वादविवाद र मनमुटाव सकृय रुपले अघि बढि रहनु हो । यस समुहलाई अझै कसरी अनुशासित र दिगो रुपमा अगाडी बढाउने भन्ने कुरामा हामीहरु सबैजना गम्भीर र क्रियाशील छौँ ।”
यसरी छोटो समयमै बीस हजार रकमबाट शुरु भएको समुहमा रु.सात लाख सो¥ह हजार जम्मा हुनुको पछाडीको कारण भने सा¥है राम्रो पाईयो । नियमित रुपमा सदस्यहरुबाट गरीने बचतबाहेक हरेक वर्ष आउने महान् चाड तिहारमा भव्य रमाइलोका साथ गाउँका सबै जना मिलेर दुइ तीन दिन देउसी तथा भैलो खेल्ने र त्यसपछि हरेक घरधुरीबाट रु. एक हजार संकलन गर्नेे प्रचलन रहेछ । केहि कारणवस कुनै घरधुरीले सो रकम तिहार सकीए लगत्तै बुझाउन नसकेमा उक्त घरधुरीले पछि बुझाउन मिल्ने प्रावधान रहेछ । यसरी प्रत्येक वर्ष हरेक घरधुरीबाट अनिवार्य रु. एक हजार संकलन गरिएको कारण छोटो समयमा यस समूहले त्यति धेरै रकम जम्मा गर्न सफल भएको पाईयो । एकातर्फ आफ्नो चलिआएको संस्कृति जगेर्ना हुने र अर्कोतर्फ समुदायमा एकता, सद्भाव र रमाइलो वातावरणका कायम रहने साथमा जीविका समूह झन् –झन् सूदृढ हुने यो तरीकालाई पक्कै पनि प्रशंसनीय एवं अनुकरणीय मान्न सकिन्छ ।
समूहमा बचत बढ्दै गए अनुसार त्यसबाट प्रत्यक्ष लाभ सो का सदस्यहरुले पाइराख्नु भएको देखिन्छ । अहिले समुदायका अधिकांश महिलाहरु केहि न केहि रुपमा आयमूलक कार्यमा संलग्न हुनुभएको छ । जीविका समूहबाट लिएको ऋणबाट कसैले राम्रो संग तरकारी खेती, कसैले पशुपालन जस्तै कुखुरा, बाख्रा , भैँसी तथा बंगुर पालन गर्दै आउनु भएको छ भने कसैले स–सानो व्यापार । पहिले–पहिले पानीकोलागी धेरै समय र परीश्रम खर्च गर्दै आउनुभएको ती महिला दिदिबहिनीहरु हाल उक्त समय र मेहेनत, साथै आफूले गरेको बचत उत्पादनमूलक कार्यमा लगानी गर्न पाउने अवसर पहिल्याईदिएकोमा कोष विकास समिति र सहयोगी सँस्था प्रति आभार प्रकट गर्नु हुन्छ । वहाँहरु भन्नुहुन्छ “ हामीहरु यस जीविका समूहमा आवद्द भए देखि निकै लाभान्वित भएका छौँ । हामी पिछडीएका महिलाहरुको आँखा कोष विकास समितिले खोलि दिएको छ ।”
कुनै समस्या, चुनौती छन् की भन्ने प्रश्नमा वहाँहरु भन्नुहुन्छ “अहिलेको समयमा हामीहरुको लागी मुख्य चुनौती भनेको उत्पादित वस्तुको बजार हो ।” यस सन्र्दभमा वहाँहरु थप जोड्नु हुन्छ “हामी आफू स्वयं बजार सम्म पुग्न समय अभाव र अन्य विभिन्न कारणले संभव नहुने हुँदा हामीहरुले विचौलिया व्यापारीहरुको भर पर्नु पर्ने अवस्था छ । जसको कारण हामीहरुले आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउन सकेका छैनौँ । व्यापारीहरुले जे मूल्य दिन्छन् , आफ्नो सुविधानुसार जहिले दिन्छन् त्यसमै चित्त बुझाएर बस्नु पर्ने वाध्यात्मक परिस्थिती छ ।”
परिस्थिती जस्तो सुकै चुनौतीपूण भएतापनि आगामी दिनहरुमा समूहलाई मजबुत र दिगो बनाउँदै लैजाने कुरामा भने सानोगिम्दि खानेपानी आयोजनाका दिदी बहिनीहरु माथीको फोटोमा जस्तै उत्साहित र दृढ देखिनु हुनुहुन्छ ।
लेखक, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमा जीविका विज्ञ हुनुहुन्छ ।