
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढिरहेको बेला “पश्चिमपाईला” युवा सञ्जालले “मास्कमाण्डु” नामक अभियान सुरु गरेको छ । सामान्य मास्कको प्रयोगले पनि कोरोना भाइरसको संक्रमण रोक्न मद्दत गर्ने तथा किनेर प्रयोग गर्न पनि खासै धेरै रकम खर्च गर्नु नपर्ने मास्कको प्रयोगमा आम नागरिकको चासो खासै नपुगेकाले यो अभियान सुरु गर्नु परेको “पश्चिमपाईला” का अध्यक्ष बुद्ध बज्रचार्यले बताउनुभयो ।
“पश्चिमपाईला” को ११औं बार्षिक जयन्तीको अवसरमा अनलाइन कार्यक्रम मार्फत् मास्कमाण्डु अभियानको सुरुवात गरिएको हो । एक अध्ययन अनुसार यदि संक्रमित र स्वस्थ/संभावित संक्रमित दुबै प्रकृतिका ब्यक्तिहरुले घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने हो भने कोरोना भाइरसको संक्रमणको जोखिम केवल १.५ प्रतिशत मात्र हुने देखिन्छ । अहिलेको नेपालको परिप्रेक्ष्यमा धेरै कम संक्रमितमा मात्र लक्षण देखिने गरेको तथ्य छ, भने संक्रमणको दर दिनानुदिन बढिरहेको छ । पछिल्लो समयको तथ्यांकहरुको आकलन हेर्दा अबको कोरोना भाइरसको इपिसेन्टर काठमाण्डु शहर हुने देखिन्छ । नयाँ संक्रमितहरु उल्लेख्य फेला पर्दै गए पनि न त परिक्षणको दर बढेको देखिन्छ, न त रोकथामका उपायहरुमा पर्याप्त साबधानी नै । युवा सञ्जाल विगत ११ बर्षदेखि खानेपानी, सरसफाइ तथा स्वच्छता एबम् बिपद्–प्रकोपका मुद्धामा सक्रिय छ ।
“कोभिडको यस नव–सामान्य अवस्थामा घरबाहिर निस्कने बित्तिकै २ मिटरको सामाजिक/भौतिक दुरी कायम गर्ने, साबुन पानी वा स्यानिटाइजरले हात स्यानिटाइज गर्ने तथा मास्क लगाउने ब्यवहारहरु अनिवार्य सर्तहरु हुन । नेपाल सरकारले पनि जनस्वास्थ्य मापदण्ड अन्तर्गत यी ब्यवहारहरु अनिवार्य गरेको छ ।” पश्चिम पाईलाका पूर्ब अध्यक्ष एबम् जनस्वास्थ्य स्वच्छता बिज्ञ, फुर्बा सांगे मोक्तानले बताउनुभयो ।
तर नेपाल सरकारले अनिवार्य भने पनि ब्यवहारमा भने त्यति देख्न नसकिएको सञ्जाल संयोजक अनिता भुजु बताउनुहुन्छ । “त्यसैले हामी युवाहरुको पनि सामाजिक दायित्वलाई महसुस गरेर यो अभियान हामीले सुरु गरेकाहौं, जहाँ हामीहरु आफैलाई सुरुमा न्यूनतम मापदण्ड पालना गर्न प्रतिबद्ध गराउँछौं ।”
यस अभियान अन्य साझेदारहरुको सहकार्यमा जोड दिदै आवश्यकताको आधारमा निरन्तर अगाडि बढ्ने जानकारी अध्यक्ष बज्रचार्यले दिनुभयो ।


1231 पटक हेरिएको 

