
सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका–२ चैतुवा गाउँमा सिँचाइ कुलो नहुँदा जमिन बाँझो राख्नुपर्ने बाध्यता थियो । तर अहिले पूरै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको छ । गाउँनजिकै वर्षभरि बग्ने खोला भए पनि चैतुवामा वर्षौंपछि सिँचाइ सुविधा पुगेपछि खेत बाँझै राख्नुपर्ने बाध्यता हटेको हो । कर्णाली प्रदेश सरकार तथा जिल्ला कृषि विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा बाँझो जमिनमा सिँचाइ पोखरी निर्माण भएपछि स्थानीयबासिन्दा खुसी भएका छन् । सिँचाइ पोखरी निर्माणपछि खेती गर्न सहज भएसँगै गाउँमा खुसियाली छाएको हो ।
पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने, मिहिनेत गरे पनि बाली राम्रो नहुने समस्या हटेको स्थानीय भोलाप्रसाद शर्माले बताउनुभयो। गाउँले आफैले सिँचाइ कुलो निर्माण गर्न सम्भव नभएपछि सिँचाइ कुलो निर्माण गरिदिन कृषि विकास कार्यालय सल्यानको पहलमा सिँचाइ कुलो निर्माण गरिएको स्थानीय शंकरप्रसाद शर्माले बताउनुभयो । कुलो निर्माणपछि अहिले आफूहरू बेमौसमी खेती गर्नुका साथै अन्य फलफूल तथा तरकारी समेत लगाउने तयारीमा जुटेको स्थानीय खिमप्रकाश शर्माले बताउनुभयो। वडा नं. २ को कागुने खोलाबाट ३५ सय मिटर टाढाबाट पाइप मार्फत पानी लगी सिँचाइ व्यवस्था गरिएको शर्माको भनाइ छ ।
कर्णाली प्रदेश सरकार र कृषि विकास कार्यालय सल्यानको करिब ५० लाख लागतमा तीनवटा सिँचाइ पोखरी १ लाख ५० हजार र ४२ हजार घनमिटरका २ वटा पानी पोखरी निर्माण गरिएको छ । सिँचाइ कुलोबाट ४३ घर परिवार लाभान्वित भएका छन् । झन्डै ३२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने स्थानीयको भनाइ छ ।


1883 पटक हेरिएको 

