
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आईसोलेशन अस्पतालमा कोरोना संक्रमित सुरक्षाकर्मी भर्ना भएपछि अस्पतालको सरसफाइमा टेवा पुगेको छ । सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएपछि अस्पताल व्यवस्थापनमा समेत सहयोग पुगेको मेडिकल कलेजका डिन डा।शैलेशमणी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको बाहिरी परिसरको झ्याँङ्ग, झोडी र झारपात फाँडिएको छ । भित्री परिसरको सफाई, सेनिटाजिङ, शौचालय तथा बाथरुमको सफाई, संक्रमित बिरामीले प्रयोग गरेका जुठा प्लेट र निस्केको फोहोरको व्यवस्थापन उनीहरुले आफैं गर्ने गरेका डिन पोखरेलले जानकारी दिनुभयो ।
ब्यारेक झैं स्वरुपमा परिणत भएको पीयूको आइसोलेशन अस्पतालमा ६७ जना सुरक्षा निकायका व्यक्तिहरु रहेका छन् । उनीहरु लक्षणबिहीन संक्रमित हुन् । भर्ना भएकामध्ये ४९ जना सशस्त्र प्रहरी र १८ जना नेपाल प्रहरी छन् । आइसोलेशनमा जम्मा १०३ जना उपचारततः रहेको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजका डिन डा. पोखरेलले जानकारी दिनुभयो ।
सुरक्षा निकायमा सम्वद्धहरुको संख्या बढ्दै जाँदा अस्पताल व्यवस्थापनमा सहज भएको छ । अन्य नागरिक संक्रमित भएर अस्पतालमा भर्ना हुँदा यस्तो भएन र उस्तो भएन भन्नै अनावश्यक आलोचना गर्ने भएपनि सुरक्षा निकायका व्यक्तिहरु भर्ना हुँदा अस्पताल व्यवस्थापनमा सहयोग गर्दै आएका हुन् ।
खाना खाईसकेपछि फ्याँक्नुपर्ने प्लेट, पानी प्रयोग गरेका ग्लास तथा आफु सुतेको बेडको सरसफाई, आफुले प्रयोग गर्ने शौचालयको सरसफाई, बाथरुमको सरसफाई आफैं गर्नुपर्ने हुन्छ । अन्य व्यक्तिले सरसफाई गरे उनीहरुमा संक्रमण सर्ने जोखिम भएका कारण सामान्य अवस्थामा रहेका संक्रमितले आफैं गर्नुपर्दछ ।
पूर्वाञ्चल विश्वविद्यालयको आईसोलेशनमा हालसम्म ४५२ जना भर्ना भईसकेका छन् । लक्षणबिहीन संक्रमितलाई यहाँ भर्ना गरेर उनीहरुको स्वास्थ्यको हेरचाह गरिने गरिएको छ । भर्ना भएकामध्ये ३४१ जना डिस्चार्ज भईसकेका र ८ जनालाई रेफर गरेर वीपी तथा कोशीको कोभिड–१९ उपचार केन्द्रमा पठाइएको छ । पीयूको आइसोलेशनमा संक्रमित पुरुषलाई मात्रै भर्ना गरिदैं आएको छ ।
संक्रमण पुष्टि भए पनि लक्षण नभएका व्यक्तिहरुले अस्पतालमा आफ्नो स्वास्थ्य हेरचाह आफैं गर्नुपर्ने डाक्टर फिजिसियन डा.डेनप्रसाद आचार्यको भनाई छ । उहाँले संक्रमित व्यक्तिले खाना खाएका प्लेटहरु सफाई कर्मचारीले उठाउँदा उसैलाई संक्रमण सर्न सक्ने जोखिम रहेकोले सावधानीपूर्वक त्यसको व्यवस्थापन तोकिएको स्थानसम्म आफैं गर्नुपर्ने बताउनुभयो ।


883 पटक हेरिएको 

