
काठमाडौ : वाग्मती नदी सफाइ निरन्तर चलिरहेपनि फोहोर फाल्ने क्रम भने खासै घटेको छैन । वर्षाको भेलमा फोहोरका पोका नदीमा फाल्ने क्रम बढेको छ । झनै कोरोना कहरका कारण सरकारको सबै निकाय सक्रिय नरहेको मौका छोपी फोहोर फाल्नेहरु मोटरसाइकलमै आएर आँखा छलेर नदीमा फोहोर फाल्ने गर्छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर योगेन्द्र चित्रकार आँखा छलेर नदीमा फोहोर मिल्काउने काम वाग्मती सफाइ अभियानका लागि अझै चुनौतीपूर्ण भएको बताउनुहुन्छ । इन्जिनियर चित्रकार भन्नुहुन्छ फोहोर फाल्नेलाई कारबाही गर्ने अधिकार समितिलाई छैन । स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयले मात्र कारबाही गर्नसक्छ, यी निकायको सहयोग बिना फोहोर नदीमा मिल्काउने काम रोक्न सकिएको छैन ।
समितिकी कार्यकारिणी सदस्य माला खरेलका अनुसार, सुन्दरीजलदेखि टेकु दोभानसम्म अहिले पनि अभियन्ताले नदी सफाइ गरिरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीको समयमा बाहेक बन्दाबन्दी खुला भएयता निरन्तर नदी सफाइ भइरहेको छ । वाग्ती सफाइ अभियान ३७७ औँ हप्ता पुगेको छ ।
ठूलो सङ्ख्यामा अभियन्ताको सहभागी भने अहिले छैन । काठमाडौँ महानगरपालिका ७ का सदस्य कृष्णमणि भट्टराई नदीमा फोहोर फाल्नेलाई कारबाही गर्न स्थानीयले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । बिहानपख मोटरसाइकलमा झुन्ड्याएर नदीमा फोहोर फाल्ने गरेको गुनासो वडा कार्यालयमा आएको भट्टराईले बताउनुभयो । बागबजारको टुकुचा, त्रिपुरेश्वरको टुकुचा निकास, रुद्रमतीको चाबहिल क्षेत्र, रातोपुुल क्षेत्रमा फोहोर नदीमा फाल्ने प्रवृत्ति छ ।
स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले तदारुकताका साथ नदीमा फोहोर फाल्नेलाई पक्रने व्यवस्था हुनसके नदी सफाइ अभियानले छिटै नै पूर्णता पाउने सदस्य माला खरेलले बताउनुभयो । काठमाडौँ महानगरपालिका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले यस्तो क्रियाकलाप गर्नेको फोटो खिचेर महानगरपालिकालाई उपलब्ध गराए कारबाही गरिने बताउनुभयो ।


1074 पटक हेरिएको 

