
चरिकोट : दोलखाको भीमेश्वर नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा हातले नछोइ साबुन र पानी झर्ने हातधुने ठाउँ (कन्ट्याक्टलेस ह्याण्ड वासिङ स्टेशन) स्थापना गर्न सुरु भएको छ । भीमेश्वरमा सामुदायिक विकास मञ्च नेपाल दोलखाले पानीको धारालाई हातले नछोएरै साबुनपानीले मज्जाले हातधुन मिल्ने प्रविधि भित्र्याएको हो । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट, ४ वटा स्वास्थ्यचौकी र एउटा आधारभूत स्वास्थ्य केन्द्र गरी ६ वटा स्वास्थ्य संस्थामा हातधुने ठाउँ स्थापना गरिएको कार्यकारी निर्देशक प्रेम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
‘कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला यसबाट बच्न साबुनपानीले हातधुने उपायलाई व्यवहारमा उतार्न नयाँ प्रविधि मार्फत हातधुने ठाउँ स्थापना गरिएको हो ।’अधिकारीले भन्नुभयो, ‘कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्न सक्ने भएकाले त्यो जोखिम कम गराउन हातले धाराको टुटी नछोइकन हातधुन मिल्ने प्रविधि ल्याइएको हो।’
ट्याङ्की स्ट्याण्डमा साबुन र पानी झार्नका लागि गरी दुईवटा पेडल राखिएको छ । फलामको एउटा पेडललाई खुट्टाले दबाएपछि हातधुने तरल साबुन र अर्कोलाई दबाएपछि धाराको टुटीबाट पानी झर्ने र दबाउन छोडेपछि आफैं बन्द हुने परियोजना सहयोग अधिकृत विनोद शर्माले जानकारी दिनुभयो ।

‘चरिकोट बजारमा साबुनपानीले हातधुने ठाउँ बनाएको भएपनि अर्काले प्रयोग गरिसकेको साबुन र धाराको टुटीछोएर हातधुनु पर्दा कोरोना सर्छ की भन्ने डरले उपयोगमा नआएको हो की भन्ने महशुस गरेर कन्ट्याक्टलेस प्रविधि अपनाइएको हो ।’ शर्माले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा धारालाई नछोएरै हातधुने प्रविधि सहितका हातधुने ठाउँ स्थापनाले कोरोना भाइरस संक्रमण कम गर्न सहयोग मिल्ने र प्रविधि हस्तान्तरण पनि हुने अपेक्षा सहित नगरपालिकासँगको समन्वयमा स्वास्थ्य संस्थामा स्थापना गरिएको हो ।’
दोलखा स्वास्थ्य चौकीमा स्थापना गरिएको हातधुने ठाउँको नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन इन्जिनियर सुरेश राउत र स्वास्थ्य शाखा प्रमुख श्यामबहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उहाँहरु दुवै जनाले कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले यस किसिमको नयाँ प्रविधि ल्याएकोमा खुसी व्यक्त गर्नु भएको छ ।
नयाँ प्रविधि सहितको हातधुने ठाउँ स्थापना भएपछि समुदायमा साबुनपानीले हातधुने बानीको विकास हुने र कोरोना संक्रमणको जोखिमलाई घटाउन मद्धत गर्ने दोलखा स्वास्थ्य चौकी प्रमुख रामकृष्ण मास्केले बताउनुभयो । ‘कोरोनाको संक्रमण बढीरहेको बेलामा यस किसिमको प्रविधियुक्त सामग्रीको अति आवश्यक थियो । विभिन्न सञ्चार माध्यममा सुनेको र देखेको प्रविधि आफैंले प्रयोग गर्न पाउँदा खुसी लागेको छ ।’ मास्केले भन्नुभयो, ‘हामीले बाल्टीमा पानी र साबुन राखेर प्रयोग गर्दै आएका थियौं । ५ सय लिटर क्षमताको ट्याङ्की सहितको हातधुने ठाउँ भएपछि अब स्वास्थ्य सेवा लिन आउनेहरु सबैलाई साबुन पानीले हात धोएर मात्रै कार्यालय प्रवेश गर्न लगाउँछौं ।’
हरेक स्वास्थ्य संस्थामा फलामको बार सहितको स्ट्याण्ड, ५ सय लिटर क्षमताको प्लास्टिकको ट्याङ्की, स्टिलको बेसन, दुईवटा पेडल, पानी भर्न र निकासका लागि एचडिपीइ पाइप सहतिको एक एकसेट उपलब्ध गराइएको परियोजना सहयोग अधिकृत विनोद शर्माले बताउनुभयो । ‘सार्वजनिक स्थलमा राख्नुभन्दा स्वास्थ्य संस्थामा राख्दा पछि सम्म प्रयोगमा आउने, हातधुने ठाउँको स्थायित्व र उचित रेखदेख हुने महशुस गरेर हामीले नगरपालिका र साझेदार संस्था युएनडिपीमा प्रस्ताव गरेका थियौं ।’ शर्माले भन्नुभयो, ‘उहाँहरुबाट स्वीकृती पाएपछि हामीले स्थानीय बजारलाई पनि प्रवद्र्धन गर्ने उद्धेश्यले चरिकोटमैं बनाएर स्थापना गरेका छौं । जसले गर्दा आगामी दिनमा केहि मर्मत सुधारको काम गर्नका लागि आवश्यक जनशक्ति र सामग्री पनि स्थानीय स्तरमैं उपलब्ध हुन्छ ।’
युएनडिपीसँगको साझेदारीमा सामुदायिक विकास मञ्च नेपाल दोलखाले भीमेश्वर नगरपालिकामा बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रति कार्य क्षमता अभिवृद्धि परियोजना कार्यान्वयन गरिरहेको छ ।



2015 पटक हेरिएको 

