
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त हुनुभएको छ । खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिनुभयो । निवर्तमान महानिर्देशक सुनिल कुमार दास पछि खानेपानी विभागमा कार्यरत सहसचिवहरु मध्ये श्रेष्ठ वरिष्ठ हुनुहुन्छ । ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो ।’ प्रवक्ता शाक्यले भन्नुभयो । निवर्तमान महानिर्देशक सुनिल कुमार दासलाई भने खानेपानी मन्त्रालयमा बोलाईएको छ ।
मीना श्रेष्ठ, खानेपानी विभागको करिब ५० बर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुनुहुन्छ । नेपाल भित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो । त्यस यता थुप्रै महानिर्देशकहरु परिवर्तन भए पनि श्रेष्ठ नै पहिलो महिला महानिर्देशक हुनुहुन्छ ।
इञ्जिनियर देखि महानिर्देशकसम्मको यात्रा
मीना श्रेष्ठले निजामति सेवामा इमान्दार, कर्तव्यनिष्ठ, क्षमतावान इन्जिनियरको परिचय बनाउनुभएको छ । २०५३ मंसिर १० गते निजामति सेवामा प्रवेश गर्नुभएकी श्रेष्ठले सुरुमा शहरी विकास तथा भवन निर्माण विभागको बिल्डिङ एण्ड आर्किटेक उपसमूहमा इन्जिनियर पदमा सेवा गर्नुभयो । त्यहाँ रहँदा उहाँले लामो समयसम्म सरकारी भवनहरुको डिजाइनको काम गर्नुभयो ।
नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गर्नुभएकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गर्नुभयो । २०६६ साल चैत्र १२ गते लिखित परिक्षा बाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिज्नल इञ्जिनियर (उपसचिव) पदमा बढुवा हुनुभएकी श्रेष्ठ २०७१ सालमा स्याटिरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति हुनुभएको थियो ।
स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उहाँ २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गर्नुभएको हो । त्यसपछि तत्कालीन खानेपानी तथा ढल निकास विभागको सुख्खा क्षेत्र खानेपानी आयोजना हालको जलवायु अनुकुलित खानेपानी आयोजनामा प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । उहाँ विगत तीन बर्षदेखि खानेपानी तथा ढल व्यवस्थापन विभागको उप महानिर्देशक हुनुहुन्छ ।


10655 पटक हेरिएको 

