
सिरहा : सिरहा नगरपालिकाका १२ जना स्थानिय महिलाहरु कपडाको सेनिटरी प्याड बनाउने सीप सिकेर उद्यमशिलतातर्फ अग्रसर भएका छन् । वेल्टहंगर हिल्फे नेपालको साझेदार संस्था सबल नेपालको प्राविधिक सहयोग तथा खैरसलवा कृषि सहकारी संस्था लिमिटेड सिरहाको आयोजनामा घरेलु बिधि (हात तथा सिलाई मेसिनको प्रयोग) बाट प्याड सिलाउने तालिम पाएपछि उद्यमशिलता तर्फ उन्मुख भएका हुन् ।
कोरोना महामारीका बीच करिब १५ हजार थान कपडाको मास्क बनाइ बिक्री वितरण गरेका महिलाहरुको समूहले थप व्यावसायिक अवरसको रुपमा सेनिटरी प्याड बनाउने सीप लिएको र यसलाई उद्यमकै रुपमा विकास गर्ने सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । वेल्टहंगर हिल्फे नेपालद्धारा सिरहा जिल्लामा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता (वाश) परियोजनाले कार्यक्षेत्र भित्रका दलित तथा सिमान्तकृत महिलाहरुलाई वास व्यवसाय प्रवद्र्धन र सशक्तिकरणका लागि स्थानिय सहकारीहरु मार्फत बीउपूँजीको रुपमा सहुलियत रकम उपलब्ध गराउने योजना ल्याए सँगै स्थानीय महिलाहरु आफै केही गर्न र आत्मनिर्भरताका साथै समाजमा योगदान समेत गर्न कस्सिएका छन् ।
प्याड बनाउन सहकारीले ऋण उपलब्ध गराउने

स्थानीय खैरसलवा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिशकुमार ठाकुरका अनुसार व्यवसायिक योजना बनाइ आउने महिलाहरुलाई एकल वा समूहमा सहकारी मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराइने छ । यसरी उपलब्ध गराईको ऋणलाई सम्बन्धित व्यक्ति वा समूहले मासिक रुपमा भुक्तानी गर्नु पर्ने छ भने प्राप्त आम्दानी तथा असुल भएको साँवा रकमबाट क्रमशः अन्य व्यक्ति वा समूहमा पूनः ऋण लगानी गरी अन्य वास व्यवसाय प्रवद्र्धनमा सहयोग गर्नेछ ।
सहकारीले महिलाहरुलाई ऋण मात्र प्रदान नगरी सीप तथा क्षमता विकासका तालिम सञ्चालन गर्नुका साथै उत्पादित सामग्रीको बजारीकरणमा समेत सहयोग गर्नेछ । कोरोना कहरकै बीचमा उल्लेख्य मात्रामा कपडाको मास्क उत्पादनमा सामाग्री व्यवस्थापन र त्यसको बजारीकरणमा सफलतापूर्वक कार्य गरी सहकारीले उदाहरण पेश गरेको अध्यक्षको भनाइ छ ।
सहकारीले परियोजना मार्फत पहिलो चरणमा प्राप्त गरेको १ लाख ८० हजारमा सहकारीको तर्फबाट १ लाख रुपैयाँ थप गरी व्यवसायिक कोष खडा गरिसकेको छ र सम्भावित व्यसायहरुको समेत पहिचान गरी लगानीको सुरुवात समेत गरिसकेको छ । तालिममा सहभागी बिभादेबी सदाले सहकारीबाट २० हजार रुपैयाँ सहुलियत ऋण लिएर सिलाइ मेसिन समेत खरिद गरिसक्नु भएको बताउनुभयो । उहाँले कपडाको मास्क तथा कपडाको सेनिटरी प्याड उत्पादन गर्न सक्षम भएको र यसलाई व्यवसायिक रुपमा सञ्चालन गर्ने सोच रहेको समेत बताउनु भएको छ ।

सबल नेपालका लघु उद्यम अधिकृत सन्तोष भण्डारीका अनुसार नेपाल सरकारले सबै सरकारी विद्यालयहरुमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको र बजारमा पाइने रेडिमेड प्याडको अत्याधिक प्रयोगबाट व्यवस्थापनमा चुनौती भइ वातावरणमा समेत नकारात्मक असर गर्ने तथा आयातित सामाग्रीको प्रयोगबाट स्थानीयपुँजी समेत बाहिरिने भएकोले परियोजनाले यस प्रकारको लघुउद्यमलाई प्रोत्साहन गर्ने तथा स्थानीय विद्यालयहरुसँग सहजिकरण गरी पुनःप्रयोग गर्न मिल्ने कपडाको प्याडको प्रयोगको लागी पैरबी गर्ने बताउनुभयो ।
वेल्टहंगर हिल्फेका परियोजना संयोजक पदम लम्सालका अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छताको आनीबानीमा दिगो परिवर्तनका लागि विभिन्न सुविधाहरुको सहज उपलब्धता र प्रयोगको सुश्चितता महत्वपूर्ण भएको हुँदा परियोजनाले सानो पुँजीबाट थालनी गर्न गक्ने, वातावरणमैत्री, स्थानिय दलित तथा सिमान्तकृत महिलाहरुको सहभागिता र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने तथा पूर्ण सरसफाइका सूचकहरुलाई समेत टेवा दिने खालका व्यवसायहरुको प्रवद्र्धन गर्न स्थानीय ८ वटा सहकारीहरु मार्फत रकम प्रवाह गरिएको बताउनुभयो ।
उहाँका अनुसार उक्त रकम सम्बन्धित नगरपालिका र साझेदार संस्थाको निगरानीमा दिगो रुपमा घुम्ती कोषका रुपमा परिचालन हुने र यसले क्रमशः ठूलो संख्यालाई व्यवसाय प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा राखिएको छ । परियोजनको समाप्ती पश्चात पनि नगरपालिकाको संरक्षकत्वमा रकम परिचालन हुने, समय समयमा रकमको लेखा परीक्षण हुने तथा आवश्यक परेको अवस्थामा सामाजिक परीक्षण समेत हुने गरी साझेदार संस्था, नगरपालिका र सहकारीका बीचमा त्रिपक्षीय सम्झौता गरी रकमलाई परिचालन गरिएको हुँदा रकमको पारदर्शिता र जवाफदेहितामा कुनै समस्या नआउने विश्वास साझेदार संस्थाहरुले लिएका छन् ।
यसरी उत्पादित सेनिटरी प्याडको व्यावसायिक उत्पादन पश्चात लागत मूल्य, श्रम तथा सामान्य मुनाफा जोडी थोक तथा खुद्रा मुल्य निर्धारण गरिने सहकारीका अध्यक्षले बताउनुभयो । तालिमबाट उत्साहित महिलाहरुले भविष्यमा अन्य अवसरहरुको समेत खोजी गरी उद्यमशिलतालाई बढावा दिने प्रतिवद्धता जनाएका छन् ।


2119 पटक हेरिएको 

