
सर्लाही : आफ्नो गाउँ समुदायलाई सफा र स्वच्छ बनाउनका लागि सर्लाही जिल्लाको गाउँ गाउँमा सरसफाइ जागरण र्याली आयोजना भइरहेका छन् । पूर्ण सरसफाइका लागि घरदैलो अभियान सुरु गर्न थालिएको हो । र्यालीमा सहभागी भएका हरिवन नगरपालिका वडा नं. ८, नयाँ वस्तीका सुन्तली बि.क.ले भन्नुभयो “आफू सफा सुग्घर हुनु र घर आँगन सफा राख्नु भनेको आफ्नै लागि हो, हाम्रै स्वास्थ्य बलियो हुनु हो, त्यही भएर गाउँलेहरु मिलेर टोलको सरसफाइ गर्दै सरसफाइ र्याली गरिरहेका छौं ।”
अहिले सर्लाही जिल्लाका हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बसवरिया गाउँपालिकामा यस प्रकारका र्यालीहरु संचालन भइरहेका छन् । स्थानीयबासीहरुको स्वस्फूर्त सहभागिता रहेको र्यालीमा स्थानीय तहका जनप्रतिनिधिहरुको समेत सहभागिताले उनीहरुलाई थप हौसला पुगेको छ । “सरसफाइको कमीले रोग लागेमा यसले कसैलाई चिन्दैन तर आफ्नो घर आँगन सफा, स्वच्छ राख्यो भने इज्जत पनि बढ्छ, गाउँ घरकै शोभा बढ्छ ।” र्यालीलाई सम्बोधन गर्नुहुँदै हरिवन नगरपालिका वडा नं. ७ का अध्यक्ष नेत्रप्रसाद मैनालीले भन्नुभयो “नेपाल सरकारले सरसफाइ सम्बन्धी लिएको लक्ष्यलाई पुरा गर्न स्थानीय तहले पनि सहयोग गर्छ ।”

सर्लाही जिल्लामा ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याविट्याटको सहयोगमा पूर्ण सरसफाइ परियोजना संचालन गरिरहेको बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीका अनुसार ३ वटा स्थानीय तहका १७ वटा वस्तीमा नमुना सरसफाइ वस्ती निर्माणका लागि परियोजनाले प्रयास गरिरहेको छ । “नमुना टोलका घरधुरीलाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण र तालिम प्रदान गरिएको छ । यस प्रकारको तालिमको फलस्वरुप स्थानीयबासीहरुमा सरसफाइ सम्बन्धी चेतनास्तरको वृद्धि भएको छ ।” कार्यकारी निर्देशक भण्डारीले भन्नुभयो “स्थानीयबासीहरुमा सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको सकारात्मक परिवर्तनले पूर्ण सरसफाइ अभियानलाई सफल पार्न मद्दत गरिरहेको छ ।”
सरसफाइ जागरण र्याली सँगै नमुना वस्तीको घर घरमा चर्पी र सरसफाइको अवस्था कस्तो छ भनेर टोलबासीहरु आफै मिलेर स्व–अनुगमन समेत गर्ने गरिएको छ । यसका लागि नमुना वस्तीमा विभिन्न समिति, उपसमितिहरु समेत गठन गरिएको जानकारी हरिवनका पालिका संयोजक विद्या काफ्लेले दिनुभयो । “टोलबासीहरुको घरायसी सरसफाइको अवस्थाको बारेमा अनुगमन गर्ने र सुधारका लागि व्यक्तिगत कार्ययोजना बनाउने गरिएको छ ।” काफ्लेले भन्नुभयो ।


1853 पटक हेरिएको 

