
काठमाडौ : गोरखा, रसुवा, नुवाकोट र धादिङमा भूकम्पले क्षति पुर्याएको ग्रामीण पूर्वाधारको पुनःनिर्माण गरिरहेको पूर्निमा कार्यक्रमले १ सय ८७ वटा खानेपानी तथा सरसफाइ आयोजना मार्फत १६ हजार ५७ धारा निर्माण गरेको छ । ती खानेपानी आयोजना मार्फत ४६ हजार ७ सय ८२ जना लाभान्वित भएको मोट म्याक डोनाल्डका पूर्वाधार कार्यक्रम व्यवस्थापक गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।
युकेएडको सहयोग तथा मोट म्याक डोनाल्डको व्यवस्थापनमा सञ्चालित पूर्निमा कार्यक्रमले खानेपानी आयोजनाको हकमा अति प्रभावित चार जिल्ला गोरखा, रसुवा, नुवाकोट र धादिङको अलावा ललितपुर, मकवानपुर र लम्जुङमा समेत पुनःनिर्माणको काम गरिरहेको छ ।
भूकम्पले भत्किएका घरहरुको पुननिर्माणका लागि समेत खानेपानी अति आवश्यक भएकाले भूकम्पले क्षति पुगेका खानेपानी संरचनाको मर्मत तथा पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको मोट म्याक डोनाल्डका पूर्वाधार कार्यक्रम व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।
पूर्निमा कार्यक्रम, गोरखा भूकम्पले क्षति पुर्याएका जिल्लाहरु गोरखा, रसुवा, नुवाकोट र धादिङका नागरिकको जीवनस्तरमा सुधार ल्याउन सन् २०१७ देखि सुरु भएको हो । सन् २०२२ सम्म सञ्चालन हुने पूर्निमा कार्यक्रमले अति प्रभावित ती चार जिल्लाका स्थानीय सरकारको क्षमता अभिबृद्धि, ग्रामीण पूर्वाधारको पुननिर्माण, निजी क्षेत्रको विकास जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।
पूर्निमा कार्यक्रम मार्फत सञ्चालित कार्यक्रमबाट ६ हजार ५८३ जना पुरुष र १ हजार ७ सय ९० जनाले रोजगार पाएको पूर्वाधार कार्यक्रम व्यवस्थापक श्रेष्ठले बताउनुभयो । यस्तै पूर्निमा कार्यक्रमले कोरोना महामारीबाट बच्न र बचाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ । विभिन्न सार्वजनिक स्थलमा हात धुने स्टेशन जडान गर्न, कोभिड –१९ महामारीबाट बच्न अपनाउनुपर्ने सावधानी लगायत जनचेतनामूलक कार्यक्रमहरु गर्न पूर्निमा प्रोजेक्टले १ करोड १२ लाख २५ हजार ३० रुपैयाँ लगानी गरिसकेको छ ।

पूर्निमाले भत्किएको संरचना उठ्यो, रोजगारीको सिर्जना भयो : गाउँपालिका प्रमुख
पूर्निमा प्रोजेक्टले गर्दा स्थानीय सरकारको क्षमता अभिबृद्धिमा सहयोग पुगेको कार्यक्रम सञ्चालित जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु बताउँछन् । उनीहरुका अनुसार जिल्लामा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्न सहज भएको छ । ‘खासगरी खानेपानीको संरचना निर्माणका लागि हामीलाई धेरै सघाउ पुगेको छ । स्थानीय सरकारकै बजेटले मात्र पूनःनिर्माण गर्न सीमित स्रोत साधनले गर्दा असम्भव थियो । भएपनि धेरै बर्ष लाग्ने सम्भावना थियो ।’ गोरखाको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरले बताउनुभयो ।
उहाँका अनुसार पूर्निमाको सहयोगमा शहीदलखन गाउँपालिकामा मात्र तीन घरे, खानेपानी आयोजना, बेतिनी खानेपानी आयोजना मनकामना, घाखोला खानेपानी आयोजना, तापखोला नागथान खानेपानी आयोजना, पोखरी खामडाँडा खानेपानी आयोजना, कामटार क्युरेनी खानेपानी आयोजना र भैसीपोल खानेपानी आयोजना गरी ७ वटा खानेपानी आयोजना निर्माण भएका छन् । ती मध्ये बेतिनी खानेपानी आयोजना मनकामना र तापखोला नागथान खानेपानी आयोजना लिफ्टिङ खानेपानी आयोजना हुन् ।

ती खानेपानी आयोजना सम्पन्न गर्न पूर्निमा प्रोजेक्टले ३ करोड १५ लाख ८२ हजार २१५ रुपैयाँ र गाउँपालिकाको २८ लाख १५ हजार लगानी भएको अध्यक्ष मगरले बताउनुभयो । उहाँका अनुसार उपभोक्ताले भने १ करोड ३८ लाख २६ हजार ७७९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । सबै खानेपानी आयोजनाबाट ५८४ घरपरिवारका ३ हजार ६८० जना लाभान्वित भएका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकामा समेत ४ वटा खानेपानी आयोजना निर्माणका लागि सम्झौता गर्ने चरणमा छ पूर्निमा प्रोजेक्ट । सम्झौताको चरणमा रहँदा नै कोभिड – १९ ले गर्दा काम अघि बढ्न नसकेको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताउनुभयो । ‘हामीले ६ वटा खानेपानी आयोजना प्रस्ताव गरेका थियौं, ती मध्ये ४ वटा स्वीकृत भएर पनि कार्यान्वयनको चरणमा पुगेका छौं’ अध्यक्ष लामाले भन्नुभयो ‘हामी उहाँहरुसँग नियमित सम्पर्कमा छौं, अब स्वास्थ्य मापदण्ड अपनाएर भए पनि ती खानेपानी आयोजनाहरु सञ्चालन गर्नेछौं ।’


1267 पटक हेरिएको 

