
लमजुङ : विश्वव्यापी कोभिड–१९ को प्रभावसँगै लमजुङ घनपोखराकी खाशा गुरुङको रोजगारी गुम्यो । मस्र्याङ्दी गाउँपालिका–१, घनपोखराकी गुरुङ कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनले व्यवसाय बन्द भएपछि पोखराबाट चार दिन हिडेर गाउँ फर्किइन् । केही महिना गाउँघरमै बसेर दिन बिताएकी गुरुङलाई लकडाउन लम्बिएला भन्ने पटक्कै लागेको थिएन तर सात महिना वित्दापनि जागिरमा फर्किन नपाएकी गुरुङले आम्दानीको नयाँ विकल्प खोज्न थालिन् ।
जिल्लाकै सबैभन्दा उचाइमा रहेको पर्यटकीय गाउँ घनपोखरा उनको घर । उनी गाउँमा आउँदा खानेपानी आयोजना निर्माणाधीन थियो । घलेगाउँसँगै रहेको घनपोखरा गाउँमा फाट्टफुट्ट पर्यटकहरूको आगमन हुने गथ्र्यो । खानेपानीको अभाव हुँदा पर्यटकलाई व्यवस्थापन गर्न पनि कठिन थियो । तर, अहिले पर्याप्त पानी भएपछि खाशा सँगै स्थानीय गाउँलेहरूले व्यावसायिक होमस्टे प्रवद्र्धनमा लागि परेका छन् ।
पोखरामा होटल व्यवसायमा अनुभव लिएकी खाशालाई गाउँमा पनि पर्यटन व्यवसाय सञ्चालन गर्न कुनै समस्या भएन । घरपरिवारसँग सल्लाह गरी गाउँमै होमस्टे व्यवसाय सुरु गरेको उनी बताउँछिन् । “सुरुको महिनाहरूम दिन काट्न कठिन थियो, जागिरमा कहिले बोलाउँछन् भन्ने लागेको थियो” खाशाले भनिन्, “अब त दोब्बर तलब दिएर बोलाए पनि पोखरा जान्न, गाउँमै सम्भावना देखेको छु ।” गण्डकी प्रदेश सरकारको एकघर एकधारा अभियानअन्तर्गत घनपोखराका १ सय ३० घरमा धारा निर्माण भएको हो । खानेपानीको समस्या भोग्दै आएका स्थानिय घरआगनमै खानेपानीको धारा आएपछि निकै खुसी छन् ।
जिल्लाकै सवैभन्दा उचाइमा रहेको पर्यटकीय गाउँमा वर्षांै देखिको खानेपानी समस्या झेल्दै आएका स्थानीय अहिले घरघरै धारा आएपछि खुसी मात्रै होइन व्यवसायको समेत सोच बनाइ सकेका छन् । यसअघि गाउँमा केही सार्वजनिक धारा भए पनि पर्यात पानी नहुँदा निकै सास्ती भएको घनपोखराकै होमस्टे व्यवसायी कालीकुमारी गुरुङले बताइन् । भौगोलिक रूपमा जिल्लाकै विकट मध्येको एक घनपोखरा गाउँमा घरघरमै खानेपानी धारा बनेपछि पानी बोक्नुपर्ने समय अन्य घरायसी कामका लागि बचत भएको गुरुङको भनाइ छ ।
“पहिला गाउँभन्दा निकै पर कुवाको पानी बोक्नुपथ्र्यो, पाहुनाहरूलाई चिया बनाउने पानी पनि बोकेर ल्याउनुपथ्र्यो” गुरुङले भनिन्, “अहिले घरघरै धारा आएको छ, अब त खानेपिउने मात्रै हैन यही पानीबाट अर्गानिक तरकारी समेत उत्पादन गछौँ ।” खानेपानी आयोजनाका लागि गण्डकी प्रदेश सरकारले एक करोड ४९ लाख २४ हजार ६ सय ३४ रुपैयाँ विनियोजन गरेको थियो । करिब ६ किलोमिटर टाडाबाट ल्याइएका उक्त खानेपानी आयोजना स्थानीय उपभोक्ताले श्रमदानसहित १ करोड ३० लाख ९५ हजार ५५ रुपैयाँमा सम्पन्न गरेको घनपोखरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष जितबहादुर गुरुङले बताए ।
“गाउँमा पानीको सारै दुःख थियो, अहिले घरघरै धारा बनेको छ” गुरुङले भने “अव हामीलाई पानीको अभाव छैन, पानी अभावमा अड्किएको सवै व्यवसाय अब सुरु हुन्छ ।” सार्वजनिक सहित १ सय बढी धारा निर्माण भएसँगै एकघर एकधारा अभियानमा ठूलो सहयोग पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको भनाइ छ । खानेपानी आयोजना सम्पन्न भएसँगै घनपोखरामा पर्यटन व्यवसायमा ठूलो राहात मिलेको छ । सोही पानीलाई करेसाबारीमा पनि उपयोग गरी कृषिमा समेत उपयोग गर्न सकिने स्थानीयको विश्वास छ ।
“हामीले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माण अघि बढाएका छौँ” अध्यक्ष गुरुङले भने, “प्रदेश सरकारले घनपोखराको समस्या सम्बोधन गरेको छ, यो क्रमले निरन्तरता पाउनेछ ।”
दुई वर्ष लगाएर निर्माण सम्पन्न खानेपानी आयोजनाको एक औपचारिक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । खानेपानी अभावमा वषौंदेखि समस्या झेल्दै आएका स्थानियले खानेपानी आयोजना सम्पन्न गरिदिएको भन्दै मुख्यमन्त्रीलाई विशेष सम्मानसमेत गरेका थिए ।
जनताको आधारभूत आवश्यकतालाई पूरा गर्न प्रदेश सरकार सधैं तयार रहेको भन्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकार सदैव जनताको साथमा रहेको बताए । कारोबार दैनिकबाट साभार गरिएको ।


926 पटक हेरिएको 

