लालबन्दीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

🔗
11
Shares


सर्लाही : नागरिक सहायता कक्ष संचालन तथा व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा संचालन गरिएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा बोल्नु हुँदै लालबन्दी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सोमनाथ बरालले सहायता कक्षले सर्वसाधारण सेवाग्राहीलाई सहयोग पुग्ने भएकोले यसलाई अझ व्यवस्थित रुपमा अगाडि बढाउनु पर्नेे बताउनुभयो । यसैगरी वडा नं. ३ का वडाध्यक्ष रामनारायण चौधरीले कोभिड १९ का कारण थलिएका, जोखिममा परेका जनताहरुलाई प्रभावकारी सेवा प्रदान गर्न सहायता कक्ष फलदायी हुने बताउनुभयो ।

बागमती सेवा समाज नेपाल, सर्लाहीद्वारा अमेरिकी सहयोग नियोग युएसएडको सहयोगमा संचालित तयार परियोजनाको सहजीकरणमा संचालनमा ल्याइएको उक्त सहायता कक्षबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने बारेमा समेत उक्त अवसरमा जानकारी गराइएको थियो ।

वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक परिचालक समेतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा नागरिक सहायता कक्षको अवधारणा र यसको व्यवस्थापनको बारेमा तयार नेपालका निराजन चौधरी र बागमती सेवा समाज नेपालका दिपेन्द्र चौधरीले सहजीकरण गर्नुभएको थियो । यसका साथै संस्थाद्वारा संचालित आर्थिक पुनःर्लाभ कार्यक्रमको मापदण्डको बारेमा समेत जानकारी गराइएको थियो ।

हाल संस्थाले लालबन्दी नगरपालिकामा कोभिड १९ का कारण जोखिममा परेका वर्गलाई लक्षित गरी आर्थिक पुनःर्लाभ कार्यक्रम अन्तर्गत कामका लागि नगद क्रियाकलाप, साना तथा मझौला आयोजना संचालन र उद्यमीहरुलाई व्यवसाय वृद्धिका लागि सहयोग समेत गरिरहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार