नुवाकोट : घर बाहिर झमझम पानी परिरहेको थियो । निस्पट रातमा चट्याङको आवाज उस्तै । बाहिर निस्कने कुनै उपाय नभएको बेला मध्य राती पेट दुखेर हैरान हुनुभयो किस्पाङ गाउँपालिका वडा नं. ५ का ७३ वर्षिय रामबहादुर सुनार वि.क. । यो कुरा अहिलेको भने होइन, धेरै बर्ष पहिले घरमा शौचालय नहुँदा मध्य रातमा परेको फसादले रामबहादुरलाई शौचालयको आवश्यकता बारे ज्ञान खुलाईदियो ।

त्यही समस्याले गर्दा शौचालयको आवश्यकता बारे बुझेका सुनारले केही समयपछि शौचालय बनाउनुभयो । तर अस्थायी । अस्थायी चर्पीले केही बर्ष काम दिएपनि त्यो दिगो थिएन । त्यो कालो रात पछि शुरु भएको शौचालय निर्माणको कामलाई उहाँले थाती राख्नु भएन ।
केही समयपछि गाउँमा शौचालय निर्माणको अभियान नै चल्न थाल्यो । शौचालय नभएकालाई शौचालयको महत्वबारे सम्झाई बुझाई गरेर भएपनि सबै घरमा शौचालय बनाउन लगाईन्थ्यो । सुनार त्यसबेलाका दिनहरु सम्झिदै भन्नुहुन्छ ‘अरुलाई सम्झाउनु परेपनि मलाई चाहिं शौचालय बनाउनुहोस् भनेर सम्झाउनु परेन, मैले त शौचालयको आवश्यकता बारे अरुलाई सम्झाउन सक्ने भईसकेको थिएँ, किनकि म आफै यसको भुक्तभोगी थिएँ ।’
चर्पी निर्माण अभियानकै क्रममा उहाँको भेट पूर्ण सरसफाइ सहजकर्तासँग भयो । त्यसपछि आफूले पनि सधैंका लागि हुने किसिमले पक्की शौचालय बनाएको अनुभव सुनाउनुभयो । ‘म शारीरिक रुपमा अशक्त मान्छे, मेरा लागि अरु मानिसलाई भन्दा अलि सहज हुने शौचालय आवश्यक पर्दोरहेछ, पूर्ण सरसफाइ सहजकर्तासँग भेट भए पछि मैले पक्की शौचालय निर्माण गरें’ उहाँले भन्नुभयो ।
शौचालय निर्माण अभियानमा सुनारको भुमिका
हातखुट्टा आंशिक रुपमा मात्रै चल्ने सुनारले जब पक्की शौचालय बनाउनुभयो, तब शौचालयको महत्व कति रहेछ भन्ने कुरा थाहा पाउनुभयो । उहाँ भन्नुहुन्छ ‘अहिले धेरै सजिलो भएको छ । अहिले घरको वरिपरि सफा सुग्घर भएको छ । ‘खुला ठाउँमा दिशा गर्दा त्यसको दुर्गन्ध, त्यसले लाग्ने रोग, राती दिशा लाग्दा कहाँ जाने ? घरमा पाहुना आउँदा कहाँ पठाउने ? यस्ता कुराले नै मलाई शौचालय बनाउन प्रेरित गरेको हो ।’ खाने ठाउँ भएपछि विसाउने ठाउँ पनि अनिवार्य हुनु पर्ने उहाँको भनाइ छ । ‘शौचालय नबनाए त चुलो वा खाना खान पनि बन्द गनु प¥यो नि हैन ? यही कुरा मैले बारम्बार शौचालय नबनाएका छिमेकीहरु सँग गरेको छु’ उहाँले भन्नुभयो ।
उहाँले शौचालय बनाउने बेला छिमेकीहरु कसैले पनि बनाएका थिएनन् । आफूले निरन्तर छिमेकीहरुलाई अशक्त मान्छेले त शौचालय बनाएँ तपाइहरुले किन शौचालय नबनाएको भनेर प्रश्न गरेको उहाँले सुनाउनुभयो । यही प्रसङ्गमा थुप्रै पटक छिमेकीहरु सँग वादविवाद भएको, कतिले त हामीजहाँ सुकै दिशा गरौं तपाईलाई के को सरोकार भनेर हप्काएको, कतिले बोल्न छोडेको र कतिले बेलुका बेलुका मदिरा सेवन गरेर आएर गाली गरेको जस्ता तीतो अनुभव समेत छ उहाँसँग ।
‘मैले यस्ता तमाम अपमानहरु सहदै आएँ तर शौचालय बनाउनुहोस् भनेर भन्न कहिल्यै छोडिन । शौचालय निर्माण अभियानमा साथ दिने तपाईहरु जस्तो भेटिएपछि थप हौसला आयो र छिमेकीहरुलाई थप दवाव बढ्दै गयो जसको परिणाम स्वरुप छरछिमेक सबैको घरमा आज शौचालय बनेका छन् ।’ उहाँले खुसी हुँदै भन्नुभयो ।
अस्थायी शौचालयबाट सुरु भएको सुनारको घरमा अहिले पक्की शौचालय सङ्गै हात धुने ठाउँ, भाँडा सुकाउने ठाउँ, फोहोर जम्मा गर्ने ठाउँ आदि बनेका छन् । उहाँकै जस्तो संरचना छिमेकी सबै घरमा बनेका छन् । किस्पाङमा मात्र नभई नुवाकोट जिल्लाभरि नै पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन भईरहेका छन् । नुवाकोट जिल्लामा युएन ह्याविट्याटको सहयोगमा पुनर्जागरण समाज नेपाल र डिकोन नेपालको सहजीकरणमा पूर्ण सरसफाइ अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।
नुवाकोट जिल्ला पूर्ण सरसफाइ कार्यक्रम संयोजक हिरेन्द्र शाहीले रामबहादुर सुनार वि.क सँग गरिएको कुराकानीमा आधारित ।


1417 पटक हेरिएको 

