कास्की : पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको पोखरा–१४ चाउथे अवस्थित ल्यान्डफिल्ड साइडमा स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाएका छन् । तत्कालीन पोखरा उपमहानगरपालिका र वडा नं १८ का स्थानीय बीच भएको २८ बुँदे सम्झौताको कार्यान्वयन नभएको भन्दै स्थानीयले अनिश्चितकालका लागि फोहोर व्यवस्थापनमा रोक लगाएका हुन् ।
ल्यान्डफिल्ड साइट प्रभावित जनसरोकार समितिले बारम्बार सम्झौता कार्यान्वय गर्न आग्रह गरे पनि महानगरले बेवास्ता गरेको गरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको समितिका अध्यक्ष बोधबहादुर कार्कीले बताउनुभयो । गएको सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएको भन्दै माग पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ ।
२०५७ साल भदौ १३ गते उपमहानगर र स्थानीयबीच नगरपालिकाबाट छुट्याएको २ प्रतिशत रकम मध्ये १० प्रतिशतसम्म बजेट स्थानीय क्लबहरुले वातावरण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अधिकार सम्पन्न नगरस्तरीय वातावरण समितिमा योजना पेस गरी कार्यान्वयन गराउने लगायत २८ बुँदे सहमति भएको थियो । तर, सोही रकम जनप्रतिनिधि आएपछि अन्यत्र पारेको स्थानीयको गुनासो छ ।
यस्तै सम्झौताअनुसार ल्यान्डफिल्डमा फोहोर व्यवस्थापनका लागि फोहोर लिएर आउने साधनले फिनेल लगायतले गाडी सफा गरी सुख्खा बनाएर ल्याउने सम्झौता भएको थियो । तर, अहिले ती सम्झौता कार्यान्वयनमा नआएको अध्यक्ष कार्कीले बताउनुभयो । सम्झौता अनुसार उपलब्ध गराउने भनिएको विकास निर्माणका लागि प्राप्त हुने रकम समेत निरन्तरतामा आलटाल गरी विकास निर्माण प्रभावित तुल्याएको उहाँको भनाइ छ ।
आफुहरुको माग पुरा नभए थप आन्दोलनमा जाने र यसको परिणाम महानगरले भोग्नुपर्ने स्थानीयहरुले चेतावनी समेत दिएका छन् । ल्यान्डफिल्डमा जाने बाटोमा तगारो लगाई सवारी रोक्ने काम भइरहेको छ । पोखरा महानगरभित्र उठाएका सम्पूर्ण फोहोर त्यहीं लगेर व्यवस्थापन गर्दै आइरहेको छ । समयमै फोहोर व्यवस्थापन नहुने हो भने शहर दुर्गन्धित हुने निश्चित छ ।