मेलम्चीको पानी वितरण गर्न केयूकेएल प्रतिबद्ध छ : प्रमुख कार्यकारी अधिकृत शाक्य (भिडियो)

 3340 पटक हेरिएको

काठमाडौ : काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न केयूकेएल सक्षम र प्रतिबद्ध रहेको बताउनुभएको छ । केयूकेएलको १३ औं बार्षिकोत्सवको अवसरमा आयोजित मेलम्चीको पानी वितरणमा केयूकेयलको तयारी बिषयक कार्यशाला गोष्ठीमा कार्यकारी अधिकृत शाक्यले मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन भएपछि उपत्यकाको घरघरमा पुर्‍याउन केयूकेएल सक्षम रहेको बताउनुभयो ।

उहाँले मेलम्चीको पानी वितरणका लागि अहिले मात्र नभई विगत १६ महिना अघि देखि नै तयारी थालिएको बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि खानेपानी मन्त्रालयका सहसचिवको संयोजकत्वमा खानेपानी वितरण समिति गठन गरिएको र त्यस अन्तर्गत ४ वटा उपसमितिहरु गठन गरेर वितरण सञ्जाल तथा अन्य संरचनाको अवस्थाका बारेमा अनुगमन गरिरहेको बताउनुभयो ।

उहाँले मेलम्चीको खानेपानी वितरणमा समस्या सिर्जना गर्ने र काम नगर्ने कर्मचारीलाई तत्काल सरुवा गरिने समेत बताउनुभयो ।

विस्तृतमा हेरौं यो भिडियोमा

कार्यशालामा मेलम्चीको खानेपानी व्यवस्थापन तयारी, काठमाडौ उपत्यका खानेपानी लिमिटेडको जिम्मेवारी, उपभोक्ता र काठमाडौ उपत्यका खानेपानी व्यवस्थपन बोर्डको नजरमा केयूकेएलले गर्नुपर्ने काम, सुन्दरीजल पानी प्रशोधन केन्द्र सञ्चालन र हस्तान्तरण, नयाँ पोखरी र खानेपानी वितरण संरचनाको कमिसनिङ एवं हस्तान्तरण, कम्पनीको महसुल बक्यौता असुलीका उपायहरु, प्रशासन तथा अर्थ विभागबाट गरिरहेका र प्रस्तावित कार्यक्रमहरु, योजना तथा सहयोग विभागबाट गरिरहेका र प्रस्तावित कार्यहरु, सञ्चालन विभागबाट गरिरहेका र प्रस्तावित कार्यहरुका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यपत्र प्रस्तुतीकरण पछि विज्ञ समूहबाट कार्यपत्र उपर टिप्पणी र निचोड प्रस्तुतीकरण गरिएको थियो । विज्ञ समूहमा पूर्व सचिवहरु सुमन प्रसाद शर्मा र दिपेन्द्र विक्रम थापा, खानेपानी मन्त्रालयका सहसचिव सुनिल कुमार दास र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा हुनुहुन्थ्यो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार